Logo
Logo

समाजमा नकरात्मकता बढ्यो : गृहमन्त्री


756
Shares

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली समाजमा नकरात्मकता बढेको बताएका छन् ।

ललितपुरको नख्खु कारागारका ४५ कैदीबन्दीलाई दिइएको विपश्यना ध्यान शिविरको समापनमा बोल्दै उनले समाजमा हरेक विषयमा नकरात्मक सोच राख्ने प्रवृत्ति बढेको बताएका हुन् ।

‘अहिले सिंहदरबार जलाउनुपर्छ भन्यो भने समाजले जलाइ हालौं भन्छ, अरु कुरामा पनि त्यस्तै छ’, गृहमन्त्री श्रेष्ठले भने, ‘समाजमा बढ्दो क्रममा रहेको नेगेटिभ टेन्डेन्सीबीच मानिसको मनलाई शुद्ध बनाउँदै समाजलाई सुसंस्कृत बनाउने अभियान स्वरुप विपश्यना ध्यान शिविर गराएका हौं ।’

उनले विगतमा मन्त्रालयका कर्मचारीलाई १५ मिनेट कार्यालयमै ध्यान गराउन परिपत्र गरिएको विषयमा पनि विवाद निकालिएको स्मरण गराउँदै भने, ‘कतिले राष्ट्रसेवक कर्मचारीको समय खेर जाने भयो पनि भने तर, कुर्सीमै बसेर सही रुपमा ध्यान गरिएको १५ मिनेटले काममा कति फाइदा गर्छ भन्ने सोचिएन ।’

गृहमन्त्री श्रेष्ठले आफूले सुशासनको अभियान चलाइरहेको बताउँदै भने ‘जेलमा सुधार गर्ने पनि हाम्रो एउटा एजेण्डा हो ।’ त्यसैले जेलभित्र बसेर निस्किँदा मानिस फेरिएर आओस् भन्ने उद्देश्यले यो अभियान चलाएको उनले बताए ।

‘रियलाइजेसन बढोस् भन्ने उद्देश्य हो, अपराध गरेपछि सिद्धिएँ भन्ने होइन, फेरि नगर्ने भएर नयाँ मान्छे भएर समाजमा योगदान गर्न सकोस् भन्ने उद्देश्य लिएका हौं’, श्रेष्ठले भने, ‘विपश्यना शिविरलाई दीर्घकालीन रुपमै अघि बढाउने सोच लिएका छौं ।’

कर्मचारी, सुरक्षा संयन्त्र र अरु निकायमा पनि कसरीलाई ध्यानलाई जोड्ने भन्नेबारे पनि आफूहरुले सोचिरहेको उनले बताए । ‘विपश्यना भनेको बुद्ध ध्यान विधिको एउटा आदर्श मोडल हो, यसले व्यक्तिलाई मनको विकारबाट मुक्त गराउन सहयोग गर्छ’, श्रेष्ठले थपे ।

नख्खु कारागारकी जेलर कल्पना घिमिरले कैदीबन्दीलाई विपश्यना ध्यान गराउन दुई महिनामा प्रि–फ्याबको संरचना तयार गरिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्