Logo
Logo

लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन सक्दैन : सञ्चारमन्त्री


504
Shares

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आजको राजनीतिक परिवर्तन सहिदको बलिदानको परिणाम भएको बताएकी छन् । सहिदको रगत, पसिना र त्यागको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएकाले यसमाथि कसैले चुनौती दिन नसक्ने बताएकी हुन् ।

सहिद सप्ताहको अवसरमा नेकपा माओवादी केन्द्रले दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा आयोजना गरेको कार्यक्रममा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सदिहहरुको सालिकमा माल्यार्पण गर्दै उनले सो धारणा राखेकी हुन् ।

माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेकी मन्त्री शर्माले अहिलेको व्यवस्था र परिवर्तन प्रति धेरै सहिदहरुको त्याग र वलिदानलाई कोही कसैले पनि अवमुल्यन गर्न नमिल्ने भन्दै उहाँले सहिदको वलिदान सधै अमूल्य रहेको बताइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो । अहिले अस्थिरता चाहनेहरुले विद्यमान व्यवस्थामाथि आलोचना गरेपनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् ।

मु्लुकमा व्यवस्था परिवर्तनका लागि भएका युद्ध र आन्दोलनका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाई गर्न नहुने बताइन् ।

‘मुलुकमा शान्ति प्रकृयाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रकृयाको काम ६ महिनामा टुंगो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भई सक्यो, अब शान्ति प्रकृयाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडो भन्दा चाँडो सार्थक टुंगोमा पु¥याउनुपर्छ । यसका लागि सरकार गम्भीर रुपमा लागि परेको छ’, उनले भनिन्, ‘सरकारको विशेष प्रक्रियामा रहेको संक्रमणकालिन न्याय सम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने प्रक्रियामै छौँ ।’

वेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूणर् विषय भएको बताउँदै उनले जनआन्दोलनका क्रममा घाईते भएका योद्धाहरुको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताइन् ।

जुनसुकै पार्टीमा आस्था राख्ने पनि मु्लुकको हितका लागि गरिएको आन्दोलन सबैको साझा भएको भन्दै यो व्यवस्थाको रक्षा गर्नु सबैको दायित्व भएको उनको भनाइ थियो । ‘सहिदले बगाएको रगत खेर जाने छैन र खेर जान दिनु हुँदैन’ उनले भनिन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल मारिएको दिनदेखि सुखानी हत्याकाण्डसम्म पारेर माओवादी घटकहरुले हरेक वर्षको फागुन १४ देखि फागुन २१ सम्म सहिद सप्ताहको रुपमा मनाउँदै आएका छन् ।

कार्यक्रममा सहिद पिता एवम् माओवादी केन्द्रका प्रदेश सल्लाहकार जगबीर चौधरी, दाङ जिल्ला सचिव विश्वराज आचार्यलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्