Logo
Logo

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, शहीदनगरका पूर्वमेयरसहित ९ जनाविरूद्ध मुद्दा


3.1k
Shares

काठमाडौं । स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नौ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदयकुमार यादवसहित ९ जनाविरूद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा स्यानिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरी खरिद गरेको तथा गुणस्तरयुक्त नभएको प्याड खरिद गरेको भन्ने उजुरी परेको थियो ।

नगरपालिकाले प्याड खरिद गर्न २०७७ फागुन १९ गते रेजा ट्रेडिङ प्रालिसँग खरिद सम्झौता गरेको थियो । तर सम्झौताअघि नै फागुन १३ गते भुक्तानी दिइसकेको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।

शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा स्यानिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौता अगावै र कहीँ कतै संख्या स्पष्ट नहुँदै रेजाले प्याड आपूर्ति गरेको अख्तियारले जनाएको छ ।

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना त्यस साल माघ २२ राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा गरेको भनिएको थियो । तर त्यस दिनको पत्रिकामा कुनै पनि सूचना प्रकाशित नै नभएको अख्तियारले दाबी गरेको छ ।

यसरी रेजा टुडे पत्रिकासँग मिलेमतो गरी झुट्टा विवरण दिएर १३ लाख ९३ हजार ६८७ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता घिमिरेले जानकारी दिए ।

अख्तियारले तत्कालीन समयका मेयर यादव, उपमेयर शिलादेवी कापर, प्रमुख प्रशाकीय अधिकृत शत्रुघन यादव, लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखा प्रमुद सुदिपकुमार भट्टराई र स्‍वास्थ्य कपिलदेवप्रसाद अधिकारीविरूद्ध मुद्दा दायर गरेको हो ।

त्यस्तै तत्कालीन श्री माध्‍यामिक विद्यालय हठ्ठीपुरवाहा धनुषाका प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सबइन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङ तथा राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक अकवर मंसुरविरूद्ध मुद्दा दायर भएको हो ।

अख्तियारले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा १ को (ङ) अनुसार सजायको माग गरेको छ । त्यसअनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद र १३ लाख ९३ हजार ६८७ रुपैयाँ बमोजिमको जरिवाना माग गरेको छ ।

प्रकाशक मंसुरविरूद्ध भने सोही दफाको उपदफा ४ बमोजिम सजाय माग गरेको छ । त्यसमा राष्‍ट्रसेवक बाहेक अरू कुनै व्यक्तिले गैरकानुनी लाभ पुर्‍याउन नहुले उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्