
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा सहभागी हुने संकेत गरेको छ । वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै आवश्यकता परे एमालेले जुनसुकै वेला पनि सरकारमा जानसक्ने संकेत गरेको हो ।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो आवश्यकता परे सरकारमा जुनसुकै वेला पनि सहभागी हुन सक्ने सांसदहरुलाई बताएका थिए । त्यसपछि साँझ महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो ।
सो छलफलमा संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेको थियो । छलफल सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा भएको भनिए पनि सत्तागठबन्धन परिवर्तन तथा नयाँ समीकरणबारे समेत छलफल भएको स्रोत बताउँछ ।
कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दावी नछाड्ने, आगामी निर्वाचनमा गठबन्धन नगर्नेलगायतका निर्णय गरेसँगै प्रचण्ड कांग्रेससँग असन्तुष्ट थिए । कांग्रेसका गतिविधिबाट वाक्क भएपछि माओवादीले एमालेसँग नयाँ समीकरणको ढोका खुला गरेको संकेतसहित एमालेका दोस्रो तहका नेताहरुसँग वार्ता गरिरहेको थियो ।
माओवादीले एमालेसँग राष्ट्रियसभा अध्यक्षमा मिलेर जाने सहमति गरेसँगै वर्तमान सत्ता गठबन्धन विघटनतर्फ अघि बढेको छ । यता बिहान ८ बजेका लागि बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । बरु कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न केहीबेरअघि बालुवाटार पुगेका छन् ।
त्यस्तै अहिले एमाले सचिवालय बैठक बसिरहेको छ । एमालेको २५ गतेका लागि बैठक बोलाएको थियो । तर सत्ता गठबन्धन धरमराएसँगै आकस्मिक रुपमा सचिवालय बैठक राखेको हो । सो बैठकमा एमालेले सरकारमा सहभागी हुनेबारे निर्णय गर्नसक्ने बुझिएको छ ।














