Logo
Logo

रास्वपा सरकारमा सहभागी भएपछि रवि र तोसिमालाई आफ्नै स्ट्याटस र तस्बिरले बनायो ‘जोकर’


9k
Shares

काठमाडौं । अहिले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको एउटा स्ट्याटस  भाइरल भइरहेको छ ।

गत असोज २७ गते उनले सामाजिक सञ्जाल फेसबुकमा पुराना सबै दललाई सहमतिको सरकार बनाएर अन्तिम अवसर सदुपयोग गर्न सुझाव दिएका थिए । उनले बाँकी रहेको चार वर्ष काम गरेर देखाइदिन पुराना दललाई चेतावनीसमेत दिएका थिए ।  

उनले लेखेका थिए– देशका व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अब यो चार वर्ष तपाईँहरू सबै मिल्नुस् । देशका तममा समस्या सुल्झाउन  हामी बाहेककाे सहमतीय सरकार बनाउनुस् । हामी प्रतिपक्षी मोर्चा सम्हाल्छाैँ । कांग्रेस एमाले, माओवादी भएका जति मिल्नुस् । हामी अब ८४ अगाडी केहीसँग मिल्दैनौंं । तपाईँहरू सबै मिलेर रास्वपाविरुद्ध गठबन्धन बनाए हुन्छ । उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै भएपछि सटर चाहिँ किन बेग्लाबेग्लै ?’

सोही स्ट्याटसको कारण अहिले रास्वपा सभापति लामिछानेमाथि विभिन्न टीकाटिप्पणी भइरहेको छ । सभापति लामिछानेले प्रतिपक्षी मोर्चा सम्हाल्ने र कोहीसँग नमिल्ने बताएको पाँच महिना नबित्दै सरकारमा सहभागी भएपछि रास्वपामथि सामाजिक प्रयोगकर्ताले ब्याङ्ग कस्न थालेका छन् । उनीहरूले रास्वपा ‘नयाँ बोतलमा पुरानै रक्सी’ भएको भन्दै ब्याङ्ग गरिरहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जसमा एमालेका पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल मन्त्री बनेका छन् । रास्वपा पनि सरकारमा सहभागी भएपछि नयाँ दल पनि सत्तामै लिप्त भएको आरोप लागिरहेको छ । 

त्यसैगरी रास्वपा सांसद तोसिमा कार्कीले एउटा तस्बिर पनि फेरि सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ । उनी ‘१७ हजार प्लस दुई’ लेखिएको प्लेकार्ड सहित उभिएका छन् । 

गत मंसिर २३ गते कोरिया भाषा परीक्षा (ईपीएस) मा सहभागी गराउन माग गर्दै भएको प्रदर्शनमा दुई युवकको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यसकै भोलिपल्ट कार्कीले ‘१७ हजार प्लस दुई बराबर कति?’ लेखिएको ब्यानर बोक्दै प्रदर्शन गरेका थिए ।

उक्त प्लेकार्डसहितको फोटो सामाजिक सञ्जाल प्रयोग कर्ताले उनको नैतिकतामाथि प्रश्न उठाइ रहेका छन् । केहीले भने उनलाई मजाक बनाउने गरेका छन् । उपार्जुन चाम्लिङले फेसबुकमा लेखेका छन् – ’१७००+ २’ लेखेको कागजको पन्ना बोकेर ट्याउँट्याउँ गरिहान्ने त्यो कार्कीनी बैनीलाई चाहिँ कता लुकाउने होला रवि दाइ ?’

सांसद काकीले ‘१७ हजार प्लस दुई’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेपछि प्रधानमन्त्री प्रचण्डले २०६२÷०६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका थिए । उनले  ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरूको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरूले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश नै पोखेका थिए । 

प्रतिक्रिया दिनुहोस्