Logo
Logo

प्रचण्ड क्याविनेटमा नयाँ तीन अनुहार, चार महिला मन्त्री


1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धनमा आबद्ध चार दललाई समेटेर बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीबाट १९ जना मन्त्री नियुक्त गरेका हुन् । जसमा एमालेबाट ८, माओवादीबाट ५, रास्वपाबाट ४ र एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् ।

बुधबार राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएलगत्तै नवनियुक्त तीन उपप्रधानमन्त्री र १६ मन्त्रीले सिंहदरबार पुगेर पदभार सम्हालेका छन् । यसअघि मंगलबार एमाले, माओवादी र रास्वपाबाट एक–एकजनाले मन्त्रीको शपथ लिए पनि मन्त्रालय तोकिएको थिएन ।

२० सदस्यीय मन्त्रिपरिषद्मा तीन नयाँ अनुहारले प्राथमिकता पाएका छन् । बाँकीले यसअघि पनि मन्त्री–उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व भने हुन सकेको छैन भने महिला चार जना मात्र मन्त्री नियुक्त भएका छन् ।

एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा समाजकल्याण, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बनेका छन् ।

उनीहरूमध्ये कपिलवस्तुबाट निर्वाचित अधिकारी मात्रै पहिलो पटक मन्त्री बनेका हुन् । उपप्रधानमन्त्री महासेठ तेस्रोपटक मन्त्री बनेका हुन् । एमाले सचिवसमेत रहेका उनी धनुषा– ४ बाट निर्वाचित भएका थिए ।

स्वास्थ्यमन्त्री गिरी ०७४ र ०७९ मा लगातार पर्वतबाट निर्वाचित सांसद हुन् । पछिल्लो निर्वाचनपछि प्रचण्ड नेतृत्वकै सरकारमा उनी यसअघि करिब दुई महिना स्वास्थ्यमन्त्री बनेका थिए । बैतडीका उद्योगमन्त्री भण्डारी तेस्रोपटक मन्त्री बनेका हुन् । त्यस्तै, धनकुटाका राई, सुनसरीकी चौधरी, सर्लाहीका उप्रेती र बाराकी साह दोस्रो पटक मन्त्री बनेका हुन् ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङ पर्यटनमन्त्री बनेका छन् । श्रेष्ठले यसअघि यही सरकारमा उप्रधानमन्त्रीसहित गृहमन्त्रालय सम्हालेका थिए भने बस्नेत र शर्मा यिनै मन्त्रालयसहित मन्त्री थिए ।

माओवादीका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य श्रेष्ठ पाँचौँपटक मन्त्री बनेका हुन् । अर्थमन्त्री पुन माओवादी उपमहासचिव हुन् । रोल्पाबाट निर्वाचित उनी दोस्रोपटक अर्थमन्त्री बनेका हुन् । उनले शान्ति तथा पुनर्निर्माण र ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हालिसकेका छन् ।

जाजरकोटबाट निर्वाचित ऊर्जामन्त्री बस्नेत पनि माओवादीमा पटक–पटक मन्त्री हुनेमा पर्छन् । सञ्चारमन्त्री शर्माले विगतमा सामान्य प्रशासन मन्त्रालय पनि सम्हालिसकेकी छिन् । पर्यटनमन्त्री तामाङ दोस्रो पटक मन्त्री भएका हुन् ।

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान एवं गृह, डिपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् । सुमना र विराजभक्त पहिलो पटक मन्त्री बनेका हुन् । लामिछाने अघिल्लो वर्ष ४२ दिन उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए । त्यस्तै, रास्वपाका उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याल यसअघि यही मन्त्रालय सम्हालिसकेका छन् ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन् । उनीहरू दुवै दोस्रोपटक मन्त्री बनेका हुन् । २५ सदस्यीय मन्त्रीपरिषदमा एकीकृत समाजवादीले अब एक राज्यमन्त्री पाउने दलहरुबीच सहमति भएको छ । उता बन र स्वास्थ्य मन्त्रालय भने प्रधानमन्त्री आफैले राखेका छन् । गठबन्धनमा सामेल जनता समाजवादी पार्टीले उक्त मन्त्रालय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्