काठमाडाैं । सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरे ।
गत सोमबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग पुनः सहर्काय गर्न पुगे । नयाँ समीकरण अनुसार त्यसै दिन प्रचण्डले नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट एक–एक जनालाई मन्त्री बनाए ।

सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याल विनाविभागिय मन्त्री बने । बुधबार प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् विस्तार गर्दै २० सदस्यीयको टिम बनाए ।
पुनर्गठित सरकारमा माओवादी केन्द्रका अधिकांश पुरानैले निरन्तरता पाएका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिए भने सुदन किराती मात्र आउट भए । नदोहोरिने संकेत पाएपछि किराती मंगलबार नै पुलचोकस्थित मन्त्री क्वाटरबाट झिटीझाम्टा लिएर बाहिराएका थिए ।
यसअघि किरातीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङले पाएका छन् । सत्ता समीकरणपछिको पुनर्गठित मन्त्रीपरिषद्मा नारायणकाजी फेरि दोहोरिँदा उनी पाँचौँ पटक मन्त्री बने भने १२ वर्षपछि परराष्ट्रमन्त्रालयको कमान्ड सम्हाल्न पुगेका छन् ।
यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । बाबुराम भट्टराई प्रधानमन्त्री रहेको तत्कालीन माओवादी नेतृत्वको सरकारमा उनले आफै परराष्ट्र मन्त्रालयको जिम्मेवारी रोजेका थिए । अहिले रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालयमा अड्डी लिएपछि श्रेष्ठको जिम्मेवारीमा फेरि १२ वर्षअघि परराष्ट्र मन्त्रालय परेको हो ।
माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म उनी उपप्रधान एवं गृहमन्त्री थिए । बुधबार गृह मन्त्रालयबाट बाहिरिनसाथ उनी परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्न पुगे । गत वर्षको पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठन हुँदा श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए ।
चितवन–२ बाट निर्वाचित भएका रास्वपा सभापति लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि श्रेष्ठले गृह मन्त्रालयको जिम्मा पाएका थिए । सुरुमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो ।
त्यसमा उनी भौतिकबाट सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे । अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । मन्त्री बन्न मरिहत्ते गर्ने श्रेष्ठको तत्कालको चुनौती रुसी सेनामा रहेका नेपालीको घर फिर्ता ल्याउनु छ ।
युक्रेनसँगको युद्धमा रहेको रुसलाई उनले कसरी आश्वस्त बनाउन सक्छन्, यसैमा नेपालको परराष्ट्रनीति विपरीत रुसी सेनामा रहेका नेपालीको फिर्ती निर्धारित हुन्छ र उनको सफलता÷असफलता यसले समेत निर्धारण गर्नेछ ।
२०४० को दशकदेखि नेपाली राजनीतिमा सक्रिय रहेका श्रेष्ठ तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी र आन्दोलनरत ७ राजनीतिक दलबिच १२ बुँदे सहमति गराउने सूत्रधारसमेत हुन् । तत्कालीन नेकपा एकता केन्द्रका महासचिवसमेत रहेका श्रेष्ठले माओवादीसँगको एकीकरणपछि पटक–पटक महत्त्वपूर्ण जिम्मेवारी पाउँदै आएका छन् ।
२०७४ को चुनावमा श्रेष्ठ गोरखा–२ बाट चुनावी मैदानमा उत्रेका थिए । तर, वाम गठबन्धनका उम्मेदवार श्रेष्ठ तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईसँग पराजित भएका थिए । वाम गठबन्धनले देशभर जबरजस्त जित निकाल्दा पनि गोरखा–२ मा चुनाव हारेपछि श्रेष्ठको संसद् प्रवेशको ढोका बन्द भएको थियो ।
त्यसअगाडि पनि श्रेष्ठले २०७० को चुनावमा हारको सामना गर्नुपरेको थियो । २०७० मा पुनः संविधानसभाको निर्वाचन हुँदा मकुवानपुर–३ बाट उम्मेदवार बनेका श्रेष्ठ तत्कालीन एमाले उम्मेदवार सुवासचन्द्र ठकुरीसँग पराजित भएका थिए । यो हारले पनि संसद् प्रवेशको उनको चाहनामा ‘ब्रेक’ लगाएको थियो । तर, उनी राष्ट्रियसभा सदस्य हुँदै श्रेष्ठ पाँचै पटक मन्त्री बनेका हुन् ।
यसरी प्रत्यक्ष निर्वाचनमा पराजित भएको एउटै व्यक्तिलाई पटक पटक मन्त्री बनाइराख्नु लोकतन्त्रको उपहास मात्रै होइन हत्या नै भएको छ ।














