Logo
Logo

प्रधानमन्त्री ओली आफ्नै स्वास्थ्यप्रति पनि उदासिन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडाै‌ ११ चैत
गत डिसेम्बर अन्त्यमा चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड १९)ले यतिबेला सिंगो विश्व आक्रान्त छ । संसारका १९४ मुलुक कोभिड १९ को चपेटामा आइसकेका छन् । यो शताब्दीको सबैभन्दा ठूलो चुनौतिका रूपमा देखा परेको यो महाविपत्तिले नेपाललाई समेत छोइसकेको छ । जसकारण मंगलबारदेखि पूरै देश नै लकडाउनको अवस्थामा छ ।


यो संकट पहिलोपटक उत्तरको छिमेकी चीनमा झन्डै ११ साताअघि देखिएको थियो । वुहानमा संकट बढ्दै जाँदा नेपालले जहाज पठाएरै त्यहाँबाट एक सय ८५ नेपालीको उद्दार गरेको थियो । तर, त्यसपछि लामो समयसम्म नेपालले यो संकटको बेवास्ता ग¥यो । अमेरिका, सिंगो युरोप र अझ खासगरी दक्षिणको छिमेकी भारतमा कोरोना संक्रमण र मृत्यु ह्वात्तै बढेपछि मात्र नेपाल सरकारलले पनि लकडाउनको निर्णय गरेको हो ।

सोमबार एक नेपालीमा कोभिन १९ संक्रमण फेला परेपछि लकडाउनको अवस्थामा देश गएको हो । उनी हाल उपचाररत छन् । तर, गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनले यसबीचमा कति अन्य कतिजनासँग सम्पर्कमा थिए, त्यो खुल्न सकेको छैन । संक्रमण फैलिए–नफैलिएको यकिन भएको छैन । संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइरहेको सरकारको दाबी छ ।

कोरोनाबाट जोगिन अनावश्यक हिँड्डुल नगर्न, धेरै व्यक्तिको सम्पर्कमा नआउन, हरदम मास्क लगाइरहन, खोक्दा वा हाच्छिउँ गर्दा टिस्यु पेपर वा कुहिनाले छोप्न सर्वसाधारणलाई आग्रह गरिरहेको छ । तर, मुलुकको प्रमुख कार्यकारी प्रमुख (जसले केही दिनअघि मात्रै दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका छन्) प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले भने आफ्नै स्वास्थ्यमा गम्भीर ध्यान दिएका छैनन् ।

कारोनासँग लड्न आवश्यक तयारीका निम्ति आइतबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओली मास्कबिनै उपस्थित थिए । प्रधानमन्त्री कार्यालयले जारी गरेको तस्बिरमा मन्त्रिपरिषद्का अन्य सबै सदस्य तथा मुख्यसचिवले मास्क लगाएको, तर, प्रधानमन्त्री ओली बिना मास्क ढुक्कले बैठक सञ्चालन गरिरहेको देखिन्छ । यसअघि, मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर पछि बालुवाटार फर्किएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आह्वान गरेका ओली सो बैठकमा पनि बिना मास्क उपस्थित भएका थिए । सिंगो देशबासीलाई अनिवार्य मास्क लगाउन सरकारले नै आह्वान गरिरहेका बेला प्रधानमन्त्री ओलीले किन त्यसको पालना गरिरहेका छैनन् ? त्यसको सन्देश आममानिसमा कस्तो जान्छ ? भन्ने कुरामा प्रधानमन्त्रीले ख्याल गरेको देखिँदैन ।

हुन त, स्वास्थ्यप्रति बेवास्ता ओलीको आजको बानी होइन । दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका बेला बालुवाटारको पिउने पानीबाट संक्रमण फैलिएर उनलाई जन्डिस भएको थियो । त्यसको केही दिनपछि उनी एउटा कार्यक्रममा सहभागी हुन पोखरा पुगेका थिए । त्यहाँ उनले केही गाँजर र मुला खाएका थिए । तर, गाँजर र मुला पखालिएको किटाणुयुक्त पानीकै कारण उनको मिर्गौलामा समस्या बढेको थियो र, मिर्गौंला फेल भएको थियो । ०६४ मा उनले पहिलोपटक मिर्गौला प्रत्यारोपण गराए । तर, त्यसपछि पनि उनले आफ्नो स्वास्थ्यको ख्याल गरेनन् । स्वास्थ्यमा उनको हेलचेक्र्याइँ थाहा पाएका उनका सल्लाहकार र सचिवालयका सदस्यहरू समेतको बेलास्ताका कारण ०७५ को दसैँमा संक्रमण फैलिएर उनी अस्पताल नै भर्ना हुनु परेको थियो ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका ओलीलाई कम्तीमा ६ महिनादेखि एक वर्षसम्म संक्रमणको उच्च जोखिम रहेका उनको उपचारमा संग्लग्न चिकित्सकहरूले बताउँदै आएका छन् । र, आवश्यक सतर्कता अपनाउन बारम्बार सम्झाएका छन् । तर, प्रधानमन्त्री ओलीले त्यस्तो सुझाब बेवास्ता गर्दै आएका छन् । ‘ओलीको यस्तो बेवास्ताले कोरोनाको संकटको संघारमा रहेको मुलुकका जनताको मनोबल कसरी बढाउला ?’ ओलीको चरम लापरबाहीप्रति रोष प्रकट गर्दै एक विश्लेषकले दृष्टिसँग भने, ‘सिंगो देशबासीको स्वास्थ्यमा ध्यान दिनुपर्ने प्रधानमन्त्री आफ्नै स्वास्थ्यमा उदासिन बन्दा कस्तो सन्देश जाला ?’

प्रतिक्रिया दिनुहोस्