धनगढी । अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट तीनजना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार राति नै प्रदेश प्रमुख देवराज जोशीसमक्ष शपथ लिए । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

मुख्ममन्त्री शाह मन्त्रिपरिषदमा नागरिक उन्मुक्तिसँगै स्वतन्त्र सांसद तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टलाई पनि समावेश गर्ने प्रयासमा छन् । जोशी र विष्टले साथ दिए प्रदेशमा कांग्रेस नेतृत्वको सरकार कायम रहने छ । तर, अहिलेसम्म राप्रपाले सरकारमा जाने निर्णय गरेको छैन ।














