काठमाडौं, ११ चैत ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड(१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न जिल्लाबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना, कञ्चनपुर २ जना र धनुषाबाट १ जना गरी २७ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआईजी शैलेश थापा क्षेत्रीले बताए ।
साथै नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
पहिलो दिन धेरैले अवज्ञा गरेकाले बुधबारदेखि पक्राउ गरेर थुनामै राख्ने प्रहरी तयारी छ । साथै सेना पनि खटाउन स्टान्डबाई अवस्थामा राखिएको छ । एक युवतीमार्फत धेरैमा संक्रमण फैलिएको आशंकामा लकडाउन गरिएको हो ।












