
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
यसअघि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्दै आफुले २०६४ बाट चुनाव जित्दै आएको गोरखा क्षेत्र–२ प्रतिनिधिसभा निर्वाचन २०७९ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका थिए ।
तर, पछिल्लो समय निर्णय पुर्नविचार गर्न मतदाताहरुले दिएको सल्लाह बमोजिम बाबुरामले उम्मेदवारी दिन स्वीकार गरेको सहयोगी विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ’, उनले भनेका छन् ।
यसअघि पार्टीभित्र कुनै सल्लाह नगरी प्रचण्डलाई निर्वाचन क्षेत्र छोडेकोमा भट्टराई निकट नेताहरू असन्तुष्ट थिए । निर्वाचनपछि पार्टी एकता गर्ने सर्तमा नेसपाका उम्मेदवारहरूले माओवादीको चुनाव चिन्ह प्रयोग गरेका थिए । तर निर्वाचनपछि प्रचण्ड र भट्टराईको सम्बन्ध चिसिएको छ ।
यतिमात्र होइन प्रचण्डको अस्थिर राजनीतिको आलोचना गर्दै आएका भट्टराईले निर्वाचन आयोग र संसद सचिवालयलाई पत्र लेखेरै आफ्ना २ सांसदलाई नेसपाकै मान्यता दिन आग्रह गरेका छन् । बाबुराम गोरखामा लोकप्रिय मानिन्छन् । चार वर्षपछि प्रचण्ड गोरखा २ मा निरन्तरता दिन्छ कि दिँदैनन् कुनै टुंगो नभए पनि भट्टराई अहिले देखि तयारीमा लागेका हुन् ।














