
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काम गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्न आफ्नो देश कुरेर नबस्न देशभरका प्रहरीलाई निर्देशन दिएका हुन् ।
उनले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल गर्दै भनेका छन्, ‘देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करीलगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन ।’
उनले थप अगाडी भनेका छन्, ‘ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्नेगरी काम गर्नुहोस् । मेरो शुभकामना छ । जय नेपाल (पार्टीवाला होइन, देशवाला)।’














