
काठमाडौं । सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।
उनीहरुबीच राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
एकीकृत समाजवादीले माधव नेपालले कम्तीमा एक वर्ष प्रधानमन्त्री बन्ने र संघदेखि प्रदेश सरकारसम्म पावर शेयरिङमा लिखित प्रतिवद्धता मागेको छ । अध्यक्ष नेपालले आफ्ना मागबारे प्रधानमन्त्रीले लिखित सहमति नगरे राष्ट्रियसभाको अध्यक्षमा र प्रधानमन्त्रीको विश्वासको मत नदिने चेतावनी दिएको थियो ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि तीन शीर्ष नेताबीच भेटवार्ता भएको हो । आज राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुँदैछ भने प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैछन् ।














