Logo
Logo

भारतबाट फर्किएका १७५ क्वारेन्टाइनमा


- दृष्टि न्युज/संवाददाता


डोटी, १२ चैत । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलका अनुसार मंगलबार कैलालीको त्रिनगर भन्सार कार्यालय हुँदै डोटी आएका १७५ स्थानीयवासीलाई जिल्लाको बडीकेदार गाउँपालिकास्थित बिपीनगर, शिखर नगरपालिका तल्कोट र दिपायल सिलगढी नगरपालिका राजपुरमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको छ ।
भारतका विभिन्न शहरमा काम गरेर स्वदेश फर्किएका सुदूरपश्चिम प्रदेशका ९९९ स्थानीयवासीलाई प्रदेश सरकारको निर्देशनमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा जाने गरी मंगलबार राति कैलालीबाट यहाँका पहाडी जिल्लामा पठाइएको थियो ।
यसै सिलसिलामा डोटीमा १७५ जना भारतमा काम गरी फर्किएका छन् । भारतबाट फर्किएकाहरु शिखर नगरपालिकाको तल्कोटमा रहेको क्वारेन्टाइनमा ७१, बडीकेदारको बिपीनगरमा ५१ र दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण भएको क्वारेन्टाइनमा ५३ जना राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।
क्वारेन्टाइनमा राखिएकालाई सम्बन्धित नगरपालिका तथा गाउँपालिकाले खाने बस्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए । उनले क्वारेन्टाइनमा राखिएकालाई खाने बस्ने व्यवस्था सम्बन्धित स्थानीय तहले गरेको भन्दै केही दिन क्वारेन्टाइनमै राखिने बताए ।
कोभिड–१९ को सचेतनास्वरुप यहाँका स्थानीय तहले आफ्ना स्थानीय तहका विभिन्न वडाका घर÷घरमा पुगेर भारतबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझावसमेत दिन थालेका छन् ।
भारतबाट आफ्नो गाउँ टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न प्रमुख जिल्ला अधिकारी पौडेलले सबैलाई आग्रह गरेका छनु । भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।
त्यसैगरी जिल्लामा भारतसहित देशका अन्य क्षेत्रबाट आएकाको खोजी गरी अभिलेख राख्ने कार्यलाई निरन्तरता दिइने समन्वय समितिका संयोजक ऐरले बताए ।
दिपायल राजपुरको क्वारेन्टाइनमा राखिएकाको उपचार गर्ने स्वास्थ्य केन्द्रलाई आवश्यकतानुसारका स्वास्थ्य सामग्री दिपायल सिलगढी नगरपालिकाले उपलब्ध गराइएको नगर प्रमुख मञ्जु मलासीले बताए । ‘क्वारेटाइनमा बसेकाको स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री तथा औषधि उपलब्ध गराएका छौँ, आवश्यक परे जतिबेला पनि अन्य सामग्री प्रदान गर्न तयारी अवस्थामा छौँ’ उनले भने । नगरपालिकाले साबुन पानीसहित हात धुने व्यवस्थाका लागि साबुन, सेनिटाइजर, मास्कसमेत प्रदान गरेको नगरप्रमुख मलासीले जानकारी दिए ।
त्यसैगरी स्थानीयवासी जम्मा हुने तथा बढी भीडभाड हुने ठाउँ तथा चोकहरुमा पनि साबुन पानीसहित हात धुने व्यवस्था मिलाइएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए ।
लकडाउनका बेला अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, घर, टोल छिमेकमा पनि भीडभाड नगरी सुरक्षित भई संक्रमणबाट जोगिन जनचेतना फैलाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी लागिपरेको नगरपालिकाले जनाएको छ ।
लकडाउनका कारण बजार सुनसान भएका छन् भने बजारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्