
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भएका छन् । मंगलबार बिहान बालुवाटारमा माोवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष नेपालबीच भएको छलफलका क्रममा उनी प्रधानमन्त्री बन्ने सहमति भएको हो ।
बालुवाटार स्रोतका अनुसार उक्त छलफलमा प्रचण्ड, नेपाल र ओली क्रमशः प्रधानमन्त्री हुने मौखिक सहमति भएको छ । सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड १ वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेका छन् । बाँकी अवधिमा तीनै जना नेता प्रधानमन्त्री हुने स्रोतले दाबी गरेको छ ।
‘यसअघिको कांग्रेससहितको पुरानो गठबन्धनमा भएको सहमतिजस्तै प्रचण्ड, नेपाल र ओलीले क्रमशः सरकारको नेतृत्व गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो । यसअघि प्रचण्ड र ओलीका बीचमा केही लिखित सहमति भएको थिएन । अहिले पनि त्यस्तो लिखित नभई तीन नेताका बीचमा मौखिक सहमति भएको स्रोतको दाबी छ ।
तीन नेताहरू क्रमशः बराबर अवधि अर्थात् १५/१५ महिना प्रधानमन्त्री हुनेछन् । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सार्वजनिक भएको सातबुँदे सहमतिका साथै अन्य आन्तरिक सहमतिसमेत शीर्ष नेताका बीचमा भएको हुनसक्ने बताए ।
प्रचण्ड, ओली र नेपाल क्रमशः प्रधानमन्त्री समान अवधिका लागि हुने र सरकारको नेतृत्व गर्ने लिखित नभइ मौखिक सहमति भएको दाबी गरिएको छ ।














