काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभाको सदस्यले पनि प्रधानमन्त्रीको दाबेदारी प्रस्तुत गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएका छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएका हुन् । उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने व्यवस्था हुनुपर्ने माग राखे । उनले राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुको संलग्नता भएको प्रस्तावबाट मात्रै प्रधानमन्त्रीलाई अविश्वास गर्न पाउने व्यवस्था हुनुपर्ने बताए ।

उनले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभा सभामुखबाहेक अरू कसैलाई पनि महाअभियोग लगाउँदा राष्ट्रियसभा सदस्यहरुको संलग्नता बेगर लगाउन नपाउने व्यवस्था राख्नुपर्ने बताए ।
उनले दुवै सभाबाट उत्पत्ति हुने विधेयक अन्तिममा पारित गर्ने अधिकार प्रतिनिधिसभालाई नभई संघीय संसदको संयुक्त बैठकलाई हुनुपर्ने बताए । उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्ने बताए ।
उनले संघीय संसदमा संयुक्त बैठकहरुको अध्यक्षता अध्यक्ष र सभामुखले आलोपालो गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले राष्ट्रपतिको निर्वाचन संघीय संसदको संयुक्त बैठकले गर्नुपर्ने बताए ।
उनले भने, ‘मैले भन्नैपर्छ, प्रतिनिधिसभा नियमावलीबमोजिम चलेन । धेरै त्यस्ता प्रमाणहरु छन्, प्रतिनिधिसभामा जहाँ सभामुखले नियमअनुसार कारबाही गरेको पनि पाइएन, भद्रगोल भयो । तर म आइसकेपछि राष्ट्रिय सभाको पूर्वअध्यक्षद्वारा जसरी भूमिका निर्वाह भयो, त्यो सम्झँदा मलाई पनि गौरव लाग्छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिकार र कर्तव्य समान हुनुपर्छ । समान जिम्मेवारी पूरा गर्नुपर्छ।’
उनले प्रतिनिधिसभा नियमावलीबमोजिम चल्न नसकेको जिकिर गरे । उनले राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभा सञ्चालनमा कार्यकुशलता देखाएको भन्दै प्रशंसा गरे ।














