काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तावित विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता टुहुरो हुन पुगेको बताएका छन् ।
बिहीबारदेखि संसदमा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद् वाग्लेले सो कुरा बताएका हुन् ।

उनले सांसद्हरुको माग र सरकारको अग्रसरतामा यसअघिको प्रवृत्ति करेक्सन गर्दै अध्यादेशमार्फत भए पनि विनियोजन विधेयकसम्बन्धी व्यवस्था परिमार्जन गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तीन महिना अघि नै छलफलका लागि संसद्ले पाउनु खुसीको कुरा भए पनि विनियोजन विधेयकले नयाँ प्रणालीको विकास गर्न नसक्दा दुःख लागेको बताए ।
विनियोजन विधेयकले आर्थिक सुधार, विकास गतिविधिलाई प्रभावकारी र जिम्मेवार बन्ने गरी लक्ष्य लिने कुनै गुन्जायस नदेखिएको उनले बताए ।
तथापि, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता फिर्ता गर्ने वा पुनर्लेखन गर्ने भन्दा पनि यसैलाई निरन्तरता दिएर बजेटमा सुधार गर्न उनले सुझाव दिए ।














