काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो ।

दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो । छानविनका क्रममा आयोगले फेला पारेका डिजिटल फरेन्सिक ल्याबको रिपोर्टमा दावाले अधिकारीलाई ‘भेरी विग अमाउन्ट क्यास, आई नो भेरी वेल, निड टु टक विथ यू, आई ह्याब सब वर्क’ भनेका छन् । उनले त्यसपछि छिरिङलाई पानी तान्ने पम्पजस्तो फोटोहरू पठाएको फेला परेको थियो ।
उक्त विवरण बाहिर आएका बेला अधिकारी अध्यागमन विभागमा महानिर्देशक थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिपक्षमा भएका बेला समेत उनलाई कारबाही हुनुपर्ने माग राख्दै आएका थिए ।














