कास्की । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मागपत्र बुझाएको छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्वको टोलीले पोखरामा रहेका प्रधानन्त्रीलाई भेटेर आइतबार मागपत्र बुझाएको हो ।
पोखरा जोडने मुख्य सडकहरुको अवस्था विकराल रहेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेको भन्दै परिषद्ले पत्रमा ध्यानाकर्षण गराएको छ ।

मागपत्रमा पर्यटन व्यवसायीले केही वर्षयता एकपछि अर्को संकटको सामना गर्नुपरेको उल्लेख गर्दै अर्थतन्त्रमा शिथिलता पैदा हुँदा लगानी संकटमा रहेको र रोजगारी घटेकाले व्यवसायीलाई ऋण तिर्न सक्ने समय र उत्प्रेरणा आवश्यक रहेको जनाएको छ । पर्यटन बोर्डको पुनःसंरचनासहित हाल रिक्त कार्यकारी बोर्ड सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।














