
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान गर्न माग गरेका हुन् ।
‘जीबी राई लगायतको जुन ग्रुप छ, त्यसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, यही ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने । तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?’, उनले प्रश्न गर्दै भने ।
उनले गृहमन्त्री लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिएको भन्दै तत्काल पदमुक्त गर्नुपर्ने बताए । लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म उनलाई मन्त्री बनाउन नहुने उनको भनाइ छ ।
सांसद थापाले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको जिकिर गरे । महामन्त्री थापाले धारणा राखेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा ध्यानाकर्षण भएको बताएका थिए ।














