Logo
Logo

उच्च मनोबल बनायौँ, कोरोनाविरुद्धको लडाईं जित्छौँ : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति थप सतर्क हुन आग्रह गरेका छन् । अध्यक्ष दाहालले शनिबार भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वास व्यक्त गरेका छन् ।
सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उनले भने, ‘विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस संकटको घडीमा परिचालित हुन र कोरोनाविरुद्धको लडाईंमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु ।’
कोरोना भाइरसका कारण आजसम्म संसारभरका करिब छ लाख मानिस प्रभावित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । विश्व महामारीको कारण निधन भएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहालले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
नेपालमा संक्रमण भएका नागरिकरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष दाहालले विश्वव्यापी महामारी बनेको कोरोना जस्तो घातक भाइरसविरुद्ध सचेततापूर्वक सावधानी अपनाउनसमेत आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सचेत नागरिक र आमसञ्चारमाध्यमको जिम्मेवारपूर्ण र सचेततापूर्वकको पहल एवं शिक्षाले नै जोखिममा पर्नबाट जोगिन सकिन्छ भन्ने तथ्यलाई गहिरो तरिकाले आत्मसात् गर्नसमेत विशेष आग्रह गर्न चाहन्छु ।’
अध्यक्ष दाहालले कोभिड–१९ को संक्रमणविरुद्ध विजय प्राप्त गर्नका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संक्रमणले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पालना गर्दै हरेक नागरिक र परिवारले घरमै बसेर आफ्नो र आफ्नो परिवारको अमूल्य जीवन रक्षा गर्न र त्यसमार्फत देश र दुनियाँको रक्षामा योगदान गर्न सबैसँग अपिल गरेका छन् ।
कोरोना भाइरसविरुद्धको लडाईंको अग्रमोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षा निकायको मनोबल उच्च राख्न सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्नलगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माणमा सरकारको ध्यान जाने नै छ ।’ संकटको यो अवस्थामा गरिब, असहायको सहयोगमा मुट्ठी फुकाउन, निजी क्षेत्रका व्यवसायीसँग पनि उनले अपिल गरेका छन् ।
अध्यक्ष दाहालले व्यक्तिगत रुपमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, हात नमिलाउने, हाच्छिउँ गर्दा रुमालको प्रयोग गर्ने, आवश्यकतानुसार मास्क प्रयोग गर्ने र सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै घरमै बस्न र अनुशासनमा रहन आमजनसमुदायसँग अनुरोध गर्नुभएको छ ।
उनले भनेका छन्, ‘चिकित्सकका अनुसार चर्को ज्वरो, थकान र श्वासप्रश्वासमा अप्ठ्यारो भए कोरोनाको परीक्षण गर्नुपर्दछ ।’ आजसम्म चारजना नेपालीमा त्यो रोगको संक्रमण देखिएको र उनीहरुको स्थिति सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको भए पनि चीन, कोरिया, इटाली, अमेरिका जस्ता मुलुकबाट पाठ सिकेर उच्च सकर्तकता अपनाउन विशेष ध्यान दिनै पर्ने बताएका छन् । कोरोनाविरुद्धको मोर्चामा अग्रपंक्रितमा रहेर क्रियाशील हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र आमसञ्चारकर्मीको क्रियाशीलताको अध्यक्ष दाहालले उच्च प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्