
काठमाडौं । आयरल्यान्ड वुल्भ्स ‘ए’ विरुद्धको शृंखला खेल्ने दुई फरक नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ विरुद्ध एकदिवसीय र टी–२० शृंखला खेल्न छुट्टाछुट्टै नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।
नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले पहिले ट्वान्टी–२० शृङ्खला खेल्नेछ । पाँच ट्वान्टी–२० शृंखलामध्ये सुरुका दुई खेल रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ । त्यसपछिका तीन र तीन खेलको एक दिवसीय शृङ्खला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ ।
भण्डारीको कप्तानीमा हुने टी २० शृंखलाका लागि १५ सदस्यीय उक्त टोलीमा लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रासिद खान, सागर ढकाल, बिपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विका अग्री रहेका छन् ।
यसैगरी एकदिवसीय शृंखलाका लागि घोषित नेपाल ‘ए’ टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल रहेका छन् ।
आयरल्यान्ड वुल्भ्ससँग नेपालले चैत १२ गते पहिलो ट्वान्टी–२० खेल खेल्नेछ । चैत १३ गते दोस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ । यस्तै, तीन एक दिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।














