Logo
Logo

हर्क साम्पाङले भेटे गृहमन्त्री


3.5k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको चर्को आलोचना गरिरहेका मेयर साम्पाङले आइतबार गृह मन्त्रालय पुगेर मन्त्री लामिछानेसँग भेट गरेका हुन् ।

इलाम क्षेत्र नम्बर २ मा रास्वपाले माओवादी केन्द्र छाडेका मिलन लिम्बूलाई टिकट दिएपछि उनले आफूलाई सिद्धयाउनकै लागि रास्वपा आएको जस्ता विवादित अभिव्यक्ति दिँदै आएका थिए । सुरुमा मिलनलाई समर्थन गर्ने बचन दिएका मेयर साम्पाङले मिलन रास्वपा प्रवेश गरेपछि भने पहिचानवादी भन्दै इलाम २ मा डकेन्द्रसिंह लिम्बूलाई समर्थन गरेका छन् ।

धरानमा मेयर साम्पाङ र रास्वपाकी नेतृ सरिन तामाङबीच लामो समयदेखि द्वन्द्व छ । यसबीचमा वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुने भएसँगै साम्पाङले रास्वपालाई पहिचान र संघीयताविरोधी भन्दै निशाना बनाइरहेका छन् ।

सामाजिक सञ्जालमा निरन्तर रास्वपाको विरोध गरिरहेका साम्पाङले आइतबार गृहमन्त्रीलाई भेटेर धरानमा इलाका प्रहरी, ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन माग गरेका छन् ।

उनले भेटका क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिहरूले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको अनुभव पनि गृहमन्त्रीलाई सुनाएका छन्।

प्रतिक्रिया दिनुहोस्