Logo
Logo

लकडाउनमा प्रहरीलाई दैनिक १३ हजार फोन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ चैत ।
कोरोना र लकडाउनसम्बन्धी जिज्ञासाले प्रहरीको हटलाइन व्यस्त हुन थालेको छ । लकडाउनपछि हटलाइनमा दैनिक १३ हजार फोन आउने गरेका छन् ।


नियमित अवस्थामा भन्दा लकडाउनपछि प्रहरीको हटलाइन १०० मा अत्यधिक फोन आउने गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार देशभरि १३ हजारभन्दा धेरै फोन आएका थिए । लकडाउन कहिले खुल्छ, बेलुका निस्कन पाइन्छ कि पाइँदैन, सामान किन्न जान के गर्नेजस्ता जिज्ञासा धेरै हुने गरेका छन् । त्यस्तै, कतिपयले आफूलाई ज्वरो आएकाले कोरोनासम्बन्धी परीक्षण गर्नुपर्ने नपर्ने सोधेका थिए । कतिपयले ग्यास तथा खाद्यान्न अभावसम्बन्धी जिज्ञासा राख्ने गरेका छन् । केहीले कतै भिड भइरहेको सूचनासमेत प्रहरीलाई दिने गरेका छन् । प्रहरीले सर्वसाधारणका हरेक जिज्ञासाको जवाफ दिई उनीहरूको समस्याको सहजीकरण गर्दै आएको प्रवक्ता उमेशराज जोशीले बताए ।
६ दिनमा २८ सय पक्राउ

लकडाउनको ६ दिनमा प्रहरीले दुई हजार आठ सय ९१ जनालाई पक्राउ गरेको छ । यो अवधिमा १० हजार ९७ सवारीसाधन नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए । पक्राउ परेकालाई प्रहरीले केही समय थुनामा राखेर छाड्ने गरेको छ । आइतबारदेखि सडकमै केही घन्टा होल्डमा राखेर छाड्ने गरिएको छ । हिरासतमा राख्दा जोखिम हुने भएकाले यसरी केही घन्टा होल्ड गर्न थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका तीन अनुरोध

लकडाउनको अवस्थामा प्रहरीले सर्वसाधारणलाई तीन अनुरोध गरेको छ । लकडाउनको अवस्थामा घरबाट बाहिर ननिस्कन भनेको छ । ‘अहिलेको अवस्थामा घरबाट ननिस्कनु नै सबैभन्दा ठूलो सहयोग हो,’ एसएसपी जोशी भन्छन्, ‘सर्वसाधारणकै स्वास्थ्यको सुरक्षाका लागि यो नियम लागू गरिएको भन्ने बुझ्नुपर्छ ।’ त्यस्तै, विदेशबाट आएका र संक्रमित बिरामीसँग भेटघाट भएका व्यक्तिलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न प्रहरीले आग्रह गरेको छ । त्यस्ता व्यक्तिबारे सूचना दिनसमेत भनिएको छ । ‘कुनै समस्या भएमा प्रहरीको हटलाइनमा फोन गर्नसमेत आग्रह गर्दछौँ,’ एसएसपी जोशीले भने ।

प्रतिक्रिया दिनुहोस्