Logo
Logo

स्वास्थ्य सामग्री प्रकरण : स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी, ओम्नी समूहलाई कालो सूचीमा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १९ चैत । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ ।
चीनबाट उक्त समूहसँग सम्झौताअनुसार ल्याएका स्वास्थ्य सामग्री खरिदमा विवाद आएपछि सम्झौता नै रद्द गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन अन्तर्गत बुधबार उक्त जानकारी गराएका हुन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहसँगको सम्झौता रद्ध गरेको जानकारी दिए । महानिर्देशक श्रेष्ठले उक्त समूहले आवश्यक सामग्री तोकिएको समयमा ल्याउन नसकेकाले सम्झौता रद्ध भएको बताउँदै भने, ‘उहाँले समयमा किट ल्याउन सक्नुभएन । १० प्रतिशतमात्र सामान पनि ल्याइयो ।’ विभागले सम्झौता रद्ध गर्दै ओम्नी समूहलाई कालो सूचीमा राखेको समेत जानकारी दिएको छ ।
सम्झौता रद्द गर्दै विभागले ५ करोड रुपैयाँ धरौटी जफतको निर्णय गरेको छ । उक्त समूहसँगको सम्झौता रद्द भएसँगै विभागले तीन दिनभित्र टेन्डर आह्वान गर्ने भएको छ ।
यस्तै, बुधबार नै कोरानाको उपचार सामाग्री खरिदमा अनिमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता रमेश पौडेलले स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी दिएका हुन् ।
बजार मूल्य भन्दा चार गुणासम्म बढी मूल्यमा कोरोना भाइरसको नियन्त्रण रोकथाम र उपचारका लागि चीनबाट स्वास्थ्य उपकरण खरिद गरिएको भन्दै पौडेलले उजुरी दिएको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालर्का यापिड डाइगोनिस्टिक किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले उजुरीमा छानबिनको माग गरेका छन् ।
पौडेलले स्वास्थ्यमन्त्रीविरुद्ध उजुरी अनलाइनमार्फत दिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । उजुरीको अध्ययनपछि अख्तियारले अनुसन्धान गर्ने कोइरालालेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्