Logo
Logo

भारतको दिल्लीमा चार सय नेपाली अलपत्र


- दृष्टि न्युज/संवाददाता


बैतडी, २० चैत । लकडाउनका कारण भारतका विभिन्न शहरमा अलपत्र परेका नेपाली नागरिकको बिचल्ली भएको छ । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएसँगै भारत सरकारले लकडाउन घोषणा गरेपछि चार सय नेपाली नागरिक अलपत्र परेका हुन् ।
अलपत्र परेका नेपाली नागरिकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका भारतको दिल्लीमा बिचल्लीमा परेका बैतडीको दोगडाकेदार–८ कालागाँउका डम्बर बिष्टले जानकारी दिए ।
बैंग्लोरबाट घर फर्किन भने आएका बैतडीका ५० जना दिल्लीमा १० दिनदेखि अलपत्र परेको उनले बताए । उनले भने, ‘बैंग्लोरबाट रेलमा चढेर घर फर्किँर्दै गर्दा दिल्ली पुुग्दा लकडाउनले रेलसेवा बन्द भयो । लकडाउनले रेलसेवा बन्द हुनुुका साथै सम्पूर्ण सवारी बन्द हुुँदा बीच बाटोमै अलपत्र परेका हौँ ।’
लकडाउनमा भारतीय प्रहरीले देख्ने बितिक्कै लखेट्ने गरेको उहाँले दुःखेसो पोखेका छन् । खान बस्नसमेत निकै समस्या भएको उनले बताए । भारतस्थित नेपाली राजदूतावासमा उद्धारका लागि गुहारेको भए पनि केही सुनुुवाइ नभएको दोगडाकेदारकै अर्का वीरेन्द्र विष्टले बताए । उनले भने, ‘दूतावासलाई पनि नेपालसम्म पुर्याउन आग्रह गरिसक्यौँ । अलपत्र परेको १० दिन भइसक्दासमेत केही पहल भएन ।’
उनीहरुले आफूहरुको उद्धार गरिए १४ दिनसम्म क्वारेन्टाइनमा बस्न तयार भएको बताएका छन् । अलपत्र परेपछि भएको पैसा सकिएको र अब घर पुुग्नसमेत पैसा नभएको उनीहरुको गुनासो रहेको छ । मजदुरी गरेर घरखर्च चलाउन भारत पसेका युवाहरु काम छुुटेर अलपत्र पर्दा समस्यामा परेका हुन् ।
यसैबीच बैतडीको सुर्नया गाउँपालिकामा कोरोना भाइरस रोकथाम तथा बच्नका लागि प्रत्येकको घरमा चिठ्ठी दिइने भएको छ । गाउँपालिकाको वडा नं ३ मा रहेको कोरोना नियन्त्रण तथा समन्वय समितिले यस्तो निर्णय गरेको हो ।
समन्वय समितिका संयोजक तथा गाउँपालिका–३ का वडाअध्यक्ष दिलाराम भट्टका अनुसार वडाभित्र रहेका सम्पूर्ण घरपरिवारलाई कारेनाबाट बच्ने उपायका बारेमा सचेतनामूलक चिठ्ठी पठाइने भएको हो ।
बुधबार बसेको समन्वय समितिको बैठकले बिहीबारदेखि घरदैलो कार्यक्रम गर्दै प्रत्येक घरमा चिठ्ठीका साथै साबुन पनि दिइने निर्णय गरेको उनले बताए । घरदैलोसँगै भारत तथा अन्य मुलुकबाट आएका नागरिक, अति विपन्न, ज्याला मजदुरी गर्ने तथा बेसहाराको तथ्यांक संकलनको काम पनि हुने जनाइएको छ ।
बुधबार वडा नं ३ का सात ओटै टोलका १४ परिचालकलाई चिठ्ठी र साबुन वितरण गर्न ४५० चिठ्ठी तथा ४५० साबुन वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले बताउनुभयो । कार्यक्रममार्फत वडा कार्यालयले भारत तथा अन्य मुलुकबाट आएका नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्