Logo
Logo

अवस्थाको मूल्यांकन गरेर ‘लकडाउन’ थपिन्छ : गृहमन्त्री


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ चैत । सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ । भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको संक्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो । नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।
सरकारले यही चैत ११ गतेदेखि कोरोनाको संक्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मंगलबारसम्मका लागि थप गरिएको थियो । लकडाउनलगायतका मुलुकको पछिल्लो अवस्थाका बारेमा छलफल गर्ने उद्देश्यले आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । गृहमन्त्री थापाले भने, ‘लकडाउनको अवधि थप गर्ने विषयमा छलफल जारी छ । सम्भवतः आज भोलि नै थप हुने निर्णय हुनसक्छ ।’
यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो ।
कोरोना संक्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।
कोभिड– १९ उच्चस्तरीय समितिको आइतबारको बैठकमा समेत लकडाउनको अवधि थप गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । त्यसो त सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेश मातहत कोरोना संक्रमणको जोखिम बढेको भन्दै लकडाउनको अवधि थप गर्न संघीय सरकारलाई आग्रह गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म नौ जनामा कोभिड–१९ को संक्रमण भएको छ ।
यसैबीच गृहमन्त्री थापाले लकडाउनको समयमा कालोबजारी तथा अन्य गैरकानूनी गतिविधि नियन्त्रणका लागि सरकारले सुरक्षा निकायलाई प्रभावकारीरुपमा परिचालन गरेको र कुनै पनि समस्या आउन नदिन सचेत रहेको बताए । दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा शान्ति सुरक्षाका विषयलाई महत्वका साथ आफूहरुले संयोजन एवं निर्देशन गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्