Logo
Logo

होटल व्यवसाय जोगाउन हानको आग्रह


अशोकशरण अधिकारी


  • अशोकशरण अधिकारी

काठमाडौं, १२ बैशाख । कोरोनाबाट सबैभन्दा पहिले र अति प्रभावित पर्यटन क्षेत्र हो । त्यसमा पनि होटल सबैभन्दा अगाडी देखिएको छ । यसअघि र पर्यटन वर्ष–२०२० लाई लक्षित गरेर खुलेका दर्जनौँ तारे र गैरतारे होटलमा भएको खर्बौँको लगानी तहसनहस हुने अवस्था देखापर्न थालेको छ । होटल व्यवसायलाई फस्टाउन भन्दापनि यतिखेर जोगाउन सक्नु नै ठूलो उपलब्धि हुने भन्दै होटल संघ नेपाल (हान)ले सरकारसँग विशेष नीतिको माग गरेको छ ।


मुलुकको होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरूको पनि ठूलो लगानी रहेको छ । कथम्कदाचित यो क्षेत्रको समस्या बढ्दै गयो भने, त्यसको सोझो असर बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्थामा पर्नेछ । त्यसैले कोरोनाभाइरस (कोभिड–१९) बाट यस क्षेत्रमा परेको हालसम्मकै ठूलो असरलाई न्यूनीकरणको लागि सर्वपक्षीय छलफलबाट श्रमिक, घरभाडा, बैंक तथा वित्तीय संस्थाको ऋण, विद्युत तथा खानेपानी महशुल र सम्पत्ति करमा तत्काल विशेष नीति ल्याउन हानले सरकारसमक्ष आग्रह गरेको छ ।
संघले हिजो जारी गरेको विज्ञप्तिमा महामारी रोकथाममा सरकारले चालेको कदमप्रति आफूहरूको ऐक्यवद्धता रहेको उल्लेख गर्दै हाल होटल व्यवसायमा परेको अकल्पनीय समस्या समाधानको लागि सरकारसँग अनुरोध गरेको छ । उसले खर्च व्यवस्थापनको सिद्धान्तलाई सबैले पालना गरेमा हालको अवस्थालाई पार लगाउन सकिने विश्वाससमेत व्यक्त गरेको छ ।
डेढ दशकअघि मुलुकको अस्थिर आन्तरिक राजनीतिका कारण होटल व्यवसायमा परेको असर मुश्किलले ५० प्रतिशत मात्र थियो । त्यसैका कारण राजधानी काठमाडौंमा मात्र आधा दर्जन प्रख्यात तारे होटल नेपालको पर्यटन क्षेत्रबाट सदाको लागि अस्ताएका थिए । तर, अहिलेको असर त्यो भन्दापनि भयावह बन्दै गएको छ । अहिले नै होटल क्षेत्रको व्यावसायिक अवस्थामा ऋणात्मक देखिएको छ । यो क्रम आगामी हिउँदसम्म कायम रहने देखिएको छ ।
नेपालको पर्यटनमा पर्यटकमार्फत् विशेष योगदान पुर्याउने युरोप, अमेरिका र अष्ट्रेलियाले चालु वर्षभरी आफ्ना नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका छन् । यसले हाम्रो पर्यटन क्षेत्रका साथै होटल व्यवसायले भोग्ने आगामी भयावह स्थितिलाई प्रतिविम्बित गरेको छ । यस्तो अवस्थामा विगतको पाठलाई सिकेर सरकारको पहलमा सम्बन्धित सबै पक्षले खर्च व्यवस्थापनको उपयुक्त माध्यम अपनाउनुको विकल्प देखिँदैन ।
महामारीपछि सरकारमाथि पर्ने बेरोजगारीको दबाब, राजश्व आम्दानीको ह्रास, आन्तरिक खपतमा मन्दी आदी विषयलाई पार लगाउन पनि समग्र पर्यटन र विशेषगरी होटल क्षेत्रको जगेर्ना गर्नुपर्ने देखिन्छ । अन्यथा, यसलाई व्यवसायीको मात्र समस्या ठानिएमा समग्र अर्थतन्त्र र वित्तीय बजारले अपुरणीय क्षति व्यहोर्नुपर्ने हुन्छ । यसको लागि पनि सरकार र सरोकारवाला सबैले उचित निकाश निकाल्नुको विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्