
काठमाडौं । आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भई प्रहरी हिरासतमा रहेका शर्माले आफू बिरामी रहेको दाबीसहित साउन २५ गते बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका थिए । उक्त रिट निवेदनमाथि सुनवाइका लागि न्यायाधीश विनोद शर्माको इजलासमा पेशी तोकिएको छ ।
शर्माले साथै पुनरावेदन पनि गरेका छन् । विशेषको फैसला त्रुटिपूर्ण रहेको उनको दाबी छ । विशेष अदालतले शर्मालाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको थियो । विशेषले २०८० असारमा उनलाई उक्त सजाय सुनाएको थियो ।
शर्मासँगै कर फर्छ्यौट आयोग, २०७१ का पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल पनि दोषी ठहर भएका थिए । अख्तियारले उनीहरूसँग १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भ्रष्टाचार गरेको दाबी गरेको थियो ।














