Logo
Logo

नौ महिनाका ग्लोबल आइएमई बैंकको नाफा तीन अर्ब १५ करोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० बैशाख ।
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको नौ महिनामा तीन अर्ब १५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। ग्लोबलले केही महिनाअघि मात्र जनता बैंकलाई समेत मर्ज गरेको थियो । यो नाफा मर्जसहितको हो ।


जनता बाहेक ग्लोबल आइएमईको मात्रै भने दुई अर्ब ७० करोड रुपैयाँ रहेको छ। तर लाभांश बाँड्न योग्य नाफा भने जम्मा ५७ करोड ९५ लाख रुपैयाँ मात्रै छ। कोरोनाका कारण ब्याज तथा किस्ता उठ्न नसकेका ऋणलाई प्रोभिजनिङ गर्दा वितरण योग्य नाफामा गिरावट आएको हो।

मर्जपछि ग्लोबलको सबै सूचकमा उल्लेख्य सुधार आएको छ। निक्षेप संकलन ७६ प्रतिशतले बढ्दा कर्जा लगानी ७९ प्रतिशतले सुधार भएको छ। चैत मसान्तसम्म बैंकले दुई खर्ब एक अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब रुपैया कर्जा बिस्तार भएको बैंकले जनाएको छ।

बैंकको चुक्ता पुँजी ८४ प्रतिशतले बढेर १८ अर्ब ९७ करोड सहित सबैभन्दा धेरै पुँजी भएको बाणिज्य बैंक बन्न सफल भएको छ। त्यस्तै जगेडा कोषमा ९ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ। पुँजीकोष अनुपात ११.२ प्रतिशत छ।

त्यस्तै खराब कर्जा भने ०.३८ प्रतिशत बिन्दुले बढेर १.१४ प्रतिशत पुगेको छ। जनतालाई मर्ज गरे पछि बैंकको खराब कर्जा बढेको हो। प्रतिशेयर आम्दानी दुई रुपैयाँले घटेर २२ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्