Logo
Logo

भक्तपुरमा कोरोना पुष्टि भएका सशस्त्र प्रहरी र नर्स : दुई बस्ती बन्द, नर्स कार्यरत अस्पताल पनि सिल


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, ३१ बैशाख । भक्तपुरमा कोरोना संक्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ ।
काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए । संक्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएको पाइएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रामेछाप घर भएका सशस्त्र प्रहरी केही दिनअघि सिन्धुपाल्चोक हँुदै भक्तपुर, चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित कोठामा आएको पाइएको जानकारी दिए । रामेछाबाट आएपछि सशस्त्र प्रहरी अस्पतालमा स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र नतिजा पोजेटिभ आएपछि उनको मंगबारदेखि टेकु अस्पतालको आइसोलेशनमा उपचार शुरु भएको प्रजिअ पाण्डेले बताए ।
महानगरीय प्रहरी परिषरसहितको टोलीले कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार एवं उनी सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम शुरु भएको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । परिवारका अन्यको पनि कोरोना परीक्षणको काम शुरु भएको छ ।
त्यस्तै, २५ वर्षीया कोरोना संक्रमित महिला सुनसरीबाट मोटरसाइकलमा पास बनाएर यही वैशाख २९ गते भक्तपुर आई मध्यपु्रथिमि शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर बसेको पाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएका उनी ललितपुरमा रहेको आरोग्य फाउण्डेशनको निदान अस्पतालमा कार्यरत छिन् । उनी झुम्कामा तीन दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेट्न आएको हो भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाइकलको पास बनाएर आएकी संक्रमित महिलासंँग आउने पुरुष सुनसरी नै फर्किएका छन् । उनीहरु बाटामा कहाँ कहाँ कोकोसँग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ ।
उनी आफै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमित पाइएपछि मङ्गलबारदेखि टेकु अस्पतालको आइसोलोशनमा भर्ना गराई उपचार शुरु भएको प्रजिअ पाण्डेले जानकारी दिए । उनी बसेको घरका मानिस र सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण शुरु गरिएको छ ।
संक्रमित महिलासंँगै बसेकी नर्स भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहेको खुलेको छ । उक्त अस्पतालमा आकस्मिक कक्षमा कार्यरत नर्सलाई आजै भक्तपुर अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ । उनलाई भक्तपुर अस्पतालकै आइसोलेशन वार्डमा राखिएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतमले नर्सलाई भक्तपुर अस्पतालमा स्वाब संकलन गरी आइसोलेशनमा राखिएको पुष्टि गरे ।
मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स यही वैशाख २६ गतेदेखि काममा नगएकाले अस्पतालमा संक्रमणको जोखिम नरहेको अनुमान गरिएको छ ।
यसैबीच कोरोना संक्रमित महिला बसेको शंखधरचोकस्थित बस्ती प्रहरीले बन्द गरेको छ । प्रहरी उपरीक्षक प्रधानले करीब २० घर रहेको उक्त बस्तीलाई सिल गरेर नेपाल प्रहरीकै सुरक्षा गस्ती खटाइएको जानकारी दिए । सिल गरिएको बस्तीमा कसैलाई आउन र जान दिइएको छैन । त्यसैगरी संक्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ । बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उनले जानकारी दिए । उनको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्