Logo
Logo

नेकपाभित्रको विवाद वैचारिक नभएर शक्ति संघर्ष हो : पोखरेल


- दृष्टि न्युज/संवाददाता


बुटवल, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टीभित्रका विवाद कम हुँदै गएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन महासचिव जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २७आँै स्मृति दिवसका अवसरमा शनिबार बुटवलमा आयोजित स्मृति कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेलले पार्टी एकताको सफलता हरेक नेता कार्यकर्ताले सोच्नुपर्ने विषय भएको पनि बताए । उनले भने, ‘इतिहासप्रति गर्व गरौँ, इतिहासको भारी बोकेर वर्तमानलाई प्रभावित गर्ने काम नगराँै ।’
उनले एकता समाजवाद निर्माण, मुलुकको समृद्धि र जनताको दिगो स्तरमा रुपान्तरणका लागि भएको बताउँदै पार्टीभित्र अहिले देखिएको विवाद वैचारिक र राजनीतिक नभएर शक्ति संघर्ष भएको बताए ।
उनले ‘शक्तिलाई व्यवस्थापन वा संयोजन गर्ने हो, त्यसको प्राप्तिका लागि अनावश्यक द्वन्द्व आन्दोलनको भविष्यका लागि हानिकारक हुन्छ भन्ने सबैले गहिरो गरी महसुस गर्नु जरुरी छ ।’
मुख्यमन्त्री पोखरेलले नेपाली समाजमा प्रतिस्पर्धाका माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई स्थापित गर्ने तथा संवैधानिक प्रतिस्पर्धाका माध्यमबाट समाजवाद निर्माण गर्ने नेकपाले लिएको लक्ष्यलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा भण्डारीका विचार अत्यन्तै सान्दर्भिक र सार्थक रहेको बताए । नेताहरु कुनै रहस्यमय अलौकिक कथाका पात्रजस्तो नभएर निरन्तर कार्यकर्ता र जनताबाट अनुमोदित हुनुपर्ने र पार्टी कमिटी प्रणाली शृंखलाबद्ध हुन सकेमात्र समाजलाई रुपान्तरण गर्न सक्ने पार्टी बन्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्