Logo
Logo

प्रहरी सेनाको भर्ना प्रक्रिया रद्द नहुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ जेठ ।
लोक सेवा आयोगले एक चरणमा परीक्षा भइसकेका भर्ना प्रक्रिया रद्द नहुने प्रष्ट पारेको छ । सेना, प्रहरीको शारिरीक परीक्षा भइसकेका भर्ना प्रक्रिया अवस्था सामान्य भएसँगै अघि बढ्ने आयोगले प्रष्ट पारेको छ ।

आयोगले नयाँ बिज्ञापन रोक्ने निर्णय गरेको छ । सरकारबाट अर्काे निर्णय नआएसम्मका लागि स्वीकृत वार्षिका कार्यतालिकाका विज्ञापन समेत रोक्ने निर्णय आयोगको सोमबारको बैठकले गरेको हो ।
आंशिका परीक्षा सञ्चालन भइसकेका भर्ना प्रक्रिया भने नरोकिने भएका छन् । स्थिती सामान्य भएपछि ती परिक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

तर, दरखास्त आह्वान भइसकेको तथा कुनै पनि चरणको परीक्षा सञ्चालन नभएको विज्ञापनको हकमा भने नेपाल सरकारबाटै निर्णय हुनुपर्ने आयोगले जनाएको छ । गत २८ फागुनमा आह्वान भएको खरिदारको परीक्षा पनि स्थगनको निर्णय भएको छ । जसको आवेदन ९ जेठदेखि रोक्न लागिएको छ ।

त्यस्तै सुरक्षा निकाय तथा संगठित संस्थाको कर्मचारी भर्ना प्रक्रिया अन्र्तगत कुनै पनि चरणको परीक्षण सुरु भइसकेको हकमा भने निरन्तरता दिइने भएको छ । तर, परीक्षा सुरु नभएका भर्ना प्रक्रिया सरकारले निर्णय नगरेसम्म स्थगित भएको छ ।

सरकारले कोभिड १९ ले सिर्जिन विषम परिस्थितीमा प्रशासनिक खर्च घटाउन नयाँ कर्मचारी भर्ना रोक्ने निर्णय गरेको थियो । सोही अनुसार सरकारले आयोगलाई नयाँ बिज्ञापन रोक्न आग्रह गरेको थियो ।

आयोगद्वारा जारी बिज्ञप्तीअनुसार सेना प्रहरी लगायत निकायको अघि बढीसकेको भर्ना प्रक्रिया सुचारु हुने जनाइएको छ । नेपाल प्रहरीमा करिब ३६ सय जवानको भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । त्यस्तै नेपाल प्रहरी र सशस्त्रमा इन्सपेक्टरको भर्ना पनि चलिरहेको छ । नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टको भर्ना पनि अघि बढेको थियो । त्यस्तै गुप्तचरको भर्ना प्रक्रिया पनि पछि सुचारु हुने आयोगकी प्रवक्ता गीता कुमार होमागाईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्