Logo
Logo

संक्रमित बढेसँगै ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारीमा सरकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ जेठ । मुलुकमा कोभिड–१९ का संक्रमित ठूलो संख्यामा देखिन थालेपछि सरकारले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा भोगेन्द्रराज डोटेलले संक्रमित संख्या अनुमानभन्दा बढ्ने भएकाले ठूलोमात्रामा स्वास्थ्य सामग्री किन्ने तयारी गरिएको बताए । उनले संक्रमितको संख्या सोचेकोभन्दा बढ्ने भएकाले तीन महिनालाई पुग्ने गरी एकैपटक सामग्री किन्ने तयारी गरिएको बताए । सोमबारसम्म एक हजार ५६७ जना संक्रमित देखिएका थिए । उनका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि इपिडिमियोलाजिष्टको समूह गठन गरेर उक्त समूहले कति आवश्यक सामग्री चाहिन्छ भनेर पहिचान गर्नेछ ।
‘संक्रमितको संख्या हाम्रो हातमा रहेको छैन । केही दिनको तथ्यांक हेर्दा यो संख्या बढ्छ’, उनले भने, ‘त्यसैले पटकपटक किन्नुभन्दा पनि एकैपटक तीन महिनालाई पुग्ने ठूलो मात्रामा औषधि किन्ने तयारीमा छाँै ।’
उनका अनुसार पहिले एक हजार ५०० संक्रमित हुने अनुमान गरिएको थियो । केही दिनअघि मात्र पाँच हजारको संख्यामा सङ्क्रमित हुने अनुमान गरिएको छ । दैनिक १५० जनाभन्दामाथि संक्रमित देखिन थालेको र विदेशमा रहेका अलपत्रलाई नेपाल ल्याउने सरकारको निर्णयसँगै संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अहिले महाशाखासँग एक लाख ७० हजार व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), १४ लाख मास्क, एक लाख ८० हजार एन ९५ मास्क, २८ हजार भिटिएम र ४० हजार आरडिटी मौज्दात रहेको उनकोे बताए ।

प्रतिक्रिया दिनुहोस्