
काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा भएको १० अर्ब खर्चको हिसाब सरकारसँग माग गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले हिसाब मागेको हो ।
सरकारले एक साताअघि कारोना रोकथामका लागि १० अर्ब खर्च भएको जनाएको थियो । त्यसपछि जनस्तरमा समेत सरकारले १० अर्ब कहाँ र कसरी १० अर्ब खर्च ग¥यो भन्ने चासो दिइरहेका बेला कांग्रेसले उक्त हिसाब मागेको हो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा मंगलबार बालुवाटार पुगेका नेताले ध्यानाकर्षण–पत्र बुझाएका थिए ।
सचेतक खाँडसँगै पुष्पा भुसाल, गगन थापा, भीमसेनदास प्रधान र राजन केसीले टोलीले बुझाएको ध्यानाकर्षण पत्रका सरकारले कोभिड–१९ नियन्त्रण गर्ने कार्यका लागि १० अर्ब खर्च भयो भनिएको छ । त्यो खर्च कुन निकाय, तहले के प्रयोजनका लागि गरेको छ ? सम्पूर्ण विववरण सार्वजनिक गरियोस्’ भन्दै प्रश्न गरिएको छ ।
कांग्रेसले विपतको समयमा स्वास्थ्य सामग्री खरिद, विदेशबाट नागरिकको उद्दार, क्वारेन्टाइन व्यवस्थापन, राहत वितरणलगायत विषयमा एकपछि अर्को अनियमितता गरेको भन्दै आपत्ति जनाएको छ ।














