Logo
Logo

दैनिक अन्तर्राष्ट्रिय चार्टर्ड उडान : धमाधम ल्याइँदै अलपत्र नेपाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साता दिनयता नियमित अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन् ।
नेपालको तर्फबाट नेपाल एयरलाइन्स, निजी क्षेत्रको हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय गन्तव्यबाट चार्टर्ड उडान गरी नेपाली काठमाडौँ ल्याइरहेका छन् भने आन्तरिक उडानको श्री एयरले पनि केही चार्टर्ड उडान गरिरहेको छ ।
त्यस्तै विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, जजीरा एयर, टर्किस एयर, कोरियन एयरलगायत एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र जजीरा एयरले चार्टर्ड उडानमार्फत नेपाली ल्याउँदैछन् ।
शनिबार बिहान ८ः३० बजे हिमालय एयरलाइन्सले अबुदाबीबाट नेपाली ल्याएको छ भने जजीराले ८ः४८ बजे कुवेतबाट नेपालीको उद्धार गरेको छ । त्यस्तै नेपाल एयरलाइन्सले विहान १०ः३० बजे साउदी अरेबियाको रियादबाट नेपाली काठमाडौं ल्याउँदैछ । सोही एयरलाइन्सको जहाजले अष्ट्रेलियाको मेलबर्नबाट नेपाली काठमाडौँ ल्याउने विमानस्थलले जनाएको छ ।
अन्तराष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबारदेखि दैनिक १० देखि १६ वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ । शुक्रबार मात्रै १६ अन्तर्राष्ट्रिय उडान भएको छ । त्यसअघि असार ६, ७ र ८ गते समान १०, असार ९ र १० गते १४ र असार ११ गते १५ अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । उल्लेखित उडान यात्रु चार्टर्ड तथा केही कार्गो उडान हुन् ।
सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्