Logo
Logo

नेकपा-कांग्रेस कार्यकर्ता झडपमा गोली चल्यो, १८ जना घाइते


- दृष्टि न्युज/संवाददाता


सर्लाही, १५ असार । धनकौल गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार आइतबार राति भएको झडपमा नेकपाका १५ र नेकाका तीन कार्यकर्ता घाइते भएका छन् । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले झडपमा दुई जना प्रहरीसमेत घाइते भएको बताए । झडप नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड आश्रुग्यास प्रहार गरेको थियो । घटनास्थल अहिले शान्त रहेको र त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्या गरिएको विरोधमा धनकौल गाउँपालिकामा आइतबार साँझ ७ बजे निकालिएको मसाल जुलुसमा काँग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहले जानकारी दिनुभयो । आफ्ना कयौँ नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठीको प्रहारबाट घाइते भएको नेता सिंहले जानकारी दिए । घटनाका घाइतेमध्ये केहीको बरहथवामा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई वीरगञ्जतर्फ पठाइएको जनाइएको छ ।
नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेकपाका कार्यकर्ताले निकालेको मसाल जुलुसले कांग्रेस कार्यकर्ता धिरु वर्माको घरअगाडि टायर बाल्नुका साथै कुटपिट गरेको नेपाली काँग्रेसका नेता एवं प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना ६ जना कार्यकर्ता घाइते भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्