Logo
Logo

संक्रमण बढ्दै गएपछि बन्दाबन्दीमा पुनः कडाइ


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, १८ असार । बन्दाबन्दी खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा शुक्रबारदेखि पुनः कडाइ गरिने भएको छ । कोरोना भाइरस (कोभिड१९)को संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई पुनः कडाइ गर्ने निर्णय गरेको हो ।
बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल व्यवसाय खोल्न पाइने, अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेको थियो । लामो समय बन्दाबन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लंघन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो ।
जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनलाई कडाइ वा खुकुलो गर्नसक्ने भनिएका कारण सुर्खेत प्रशासनले जोखिमलाई मध्यनजर गरी कडाइ गर्ने नीति लिएको हो । सुर्खेतमा हाल कोरोना संक्रमितको संखया ३५४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा संक्रमण पुष्टि भइसकेको छ । प्रदेशको संक्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैङ्कका कर्मचारी, क्वारेन्टिनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा संक्रमण फैलिएकाले लकडाउनमा कडाइ गर्नुपरेको बताए । ‘भीडभाड बढेपछि संक्रमणको जोखिम देखियो, साँझमा अलि धेरै भीडभाड हुने र सावधानी पनि अपनाइएको पाइएन’ प्रजिअ रेग्मीले भने, ‘समुदायस्तरका व्यक्तिहरूमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कता अपनाउन जरुरी छ ।’
प्रजिअ नेतृत्वको जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्रले शुक्रबारदेखि तरकारी, फलफूल, दुग्धजन्य, ग्यास, औषधिलगायका अत्यावश्यक सेवा बाहेकका पसलहरू बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्रै खुला गर्ने निर्णय गरेको छ । अत्यावश्यक बाहेकका पसल कम्तीमा हप्तामा एक दिन बन्द गर्नुपर्नेछ । होटल, रेष्टुराँलगायतका खाजा–नास्ता पसल, सैलुन तथा ब्यूटीपार्लर पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्