
काठमाडौं । साताको पहिलो दिन आज (आइतबार)सेयर बजार (नेप्से) एकैदिन ७५ अंक बढेको छ । नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो ।
आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा आज १९६ कम्पनीको मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज म्युचुअल फण्डबाहेक बजारमा सबै समूहको सूचक बढेको छ । उत्पादनमूलक उद्योगमा सर्वाधिक ४.७९ प्रतिशत, जीवन बीमामा ४.३१ प्रतिशत, फाइनान्समा ४.२८ प्रतिशत, होटल तथा पर्यटनमा ४.१४ प्रतिशत मूल्य बढेको छ ।
विकास बैंक, इन्भेस्टमेन्ट तथा निर्जीवन बीमा समूहमा पनि ३ प्रतिशत भन्दा धेरैले बृद्धि हुँदा बजार पुँजीकरणमा सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंक समूहमा २.५३ प्रतिशत वृद्धि भएको छ ।
आज ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दीखोला जलविद्युत रहेका छन् । समाज लघुवित्तमा भने नकारात्मक सर्किट लागेको छ ।
आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको ९७ करोड र हिमालयन रिइन्स्योरेन्सको ८६ करोड रुपैयाँको कारोबार भयो । कारोबार संख्याको आधारमा हिमालयन पहिलो र नेपाल पुनर्बीमा दोस्रो स्थानमा रहेको छ ।














