Logo
Logo

दुई जिल्लाका सिडिओको सरुवा, १२ सहसचिव सिडिओ हुन गृहमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असार ।
गृह मन्त्रालयले नुवाकोट र सिराहाको प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोटमा गृह मन्त्रालयमा कार्यरत उपसचिव झंकनाथ ढकाललाई कामु सिडिओ बनाएर पठाइएको छ ।


नुवाकोटका सिडिओ द्रोण पोखरेलको कारागार व्यवस्था विभागको महानिर्देशनमा सरुवा भएको छ । कारागार व्यवस्था विभागका महानिर्देशक प्रदीप कँडेललाई सिराहाको सिडिओमा खटाइएको गृह मन्त्रालयले जनाएको छ । सिराहाका सिडिओ सरोज गुरागाईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश १ नम्बरको मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयमा खटाइको छ ।

गृहमा १२ सहसचिव भित्रिए
गृह मन्त्रालयमा नयाँ १२ सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ६३ सहसचिवको सरुवा तथा पदस्थापन गर्दा १२ जनालाई गृहमा पठाइएको छ ।

गृह मन्त्रालय सरुवा हुनेमा ज्ञानेन्द्र पौडेल, प्रेम कुमार भट्टराई, महेश आचार्य, थानेश्वर गौतम, चक्रपाणी पाण्डे,धुव्र कुमार पोखरेल, तिर्थराज भट्टराई, बन्धुप्रसाद बाँस्तोला, अरुण पोखरेल, सुरेश न्यौपाने, सन्त कुमार बि.क र ढुण्डी निरौला छन् । सिडिओमा खटिने गरी उनीहरुलाई गृहमा सरुवा गरिएको स्रोत बताउँछ । विभिन्न जिल्लाका सिडिओ तानेर गृहले उनीहरुलाई खटाउने तयारी गरेको छ । एक वर्ष कार्यकाल पुगेको तथा कार्यक्षमतामा कमजोर सिडिओको सरुवा गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्