Logo
Logo

पदलोलुप प्रहरीको जमातले इमान्दार प्रहरीहरु प्रताडितः ज्ञवाली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार । 

बिहीबारदेखि प्रहरी महानिरीक्षकबाट अवकाश पाएका ठाकुर प्रसाद ज्ञवालीले प्रहरीभित्रका बिकृतीबारे खुलेर बालेका छन् । बुधबार बिदाई कार्यक्रममा उनले प्रहरीकै केही अधिकृतदेखि गृहमन्त्रालयसम्मले प्रहरीलाई कमजोर बनाएको बताए ।


प्रहरीका पदलोलुप जमान बढेको र उनीहरुकै कारण पनि प्रहरी कमजोर बनेको र इमान्दार प्रहरीहरु प्रताडित बनेको उनले भनाई छ । प्रहरीमा स्वार्थी प्रहरी अधिकृतहरु हाबी हुँदै गएमा उनको असन्तुष्टि थियो । केही पाउनको लागि र लीनको लागि आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने पदलोलुपहरुको जमातको कमी नभएकोले इमानदार र रनवन नचाहर्ने प्रहरी कर्मचारीहरु थप प्रताडित भइरहने परिवेशलाई कम गर्न नयाँ नेतृत्वलाई साथ र सहयोग दिन समकक्षी तथा अन्य प्रहरीलाई उनले आग्रह गरेका छन् ।

राज्यकै विभिन्न निकायबाट हस्तक्षेप गरी कमजोर बनाउने प्रयास भइरहेको बताएका छन् । केही समूह प्रहरीलाई कमजोर बनाउने खेलमा लागेको त्यसबाट प्रहरी अधिकृतहरु प्रताडित भइरहेकाले संगठनलाई बलियो बनाउन नवनियुक्त महानिरीक्षकलाई साथ दिन उनले आग्रह गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित बिदाई कार्यक्रममा उनले भने,‘आज बिदाइको यस घडीमा मैले किन पनि यस तथ्यमा जोड दिईरहेको छु भने नेपाल प्रहरीलाई एक ढिक्का र मजबुत भएको देख्न नचाहने समूह र शक्तिहरूले सदैव यो संगठनलाई यसै गरि अनिर्णयको बन्दी बनाएर रजगज गर्न प्रयासरत रहने गरेका छन् । सरुवाको लागि, बढुवाको लागि, काजको लागि, तालिमको लागि हाम्रा कर्मचारीहरू घाइते मृग जस्तै रनवन बरालिनु परेमा त्यो जनशक्तिको आफ्नो संगठन र नेतृत्व प्रतिको श्रद्धा भाव क्षीण हुँदै जान्छ र त्यसको पिडा अन्ततः सेवा प्रवाहमा देखिने अकर्मण्यताका कारण आम नागरिकले बेहोर्नु पर्ने हुन्छ ।’
यसमा केही प्रहरीको पनि गल्ती भएको उनको भनाई छ । ‘केही दोष हाम्रो पनि छ,’ उनले भने,‘हाम्रो जनशक्तिको समस्या हामीले सम्बोधन नगरेमा उसले अनेक बाटो खोज्दै हिँडनु स्वाभाविक पनि हो तर केवल व्यक्तिगत हित र लाभका लागि संगठनलाई अनिर्णयको बन्दी बनाउने प्रवृत्ति र सोचले गर्दा आउने दबाबले संगठनलाईकदापी भलो गर्दैन र संगठनको कुभलो हुँदा एउटा व्यक्ति वा पात्र लाभान्वित हुनुको म कुनै ठूलो अर्थ पनि देख्दिन ।’
कुनैपनि मुलुकको शान्ति सुरक्षाको अवस्था राजनैतिक सबलतासंग जोडिएको हने भएकाले राज्यको सुरक्षा प्रबन्ध प्रति नागरिकले विश्वास गर्न छोड्नु राज्यका लागि सबैभन्दा ठूलो नैतिक चुनौती भएको ज्ञवालीले बताए ।
प्रहरीकै अभिभावकत्व गर्ने निकायबाटै हस्तक्षेप भइरहेको ज्ञवालीको आरोप छ । गृह मन्त्रालयतर्फ संकेत गर्नै उनले भने,‘ नागरिक सुरक्षा संयन्त्रको महत्त्वका बारेमा यहाँ विश्लेषण गरिरहँदा नेपाल प्रहरी भने आन्तरिक र बाह्य स्वार्थको संयोजन गर्ने निहुँमा विगतका गलत नजिरलाई पछ्याउँदा सांगठनिक मर्यादा जोगाउने अनेकौँ अवसरबाट बन्चित हुन पुगेको छ । त्यसमा पनि हाम्रो अभिभावकत्व निर्वाह गर्नु पर्ने संस्थाले आफ्नो भूमिका बिर्सिदिनाले नेपाल प्रहरी संगठनलाई स्वार्थ समूहले कमजोर बनाउने निरन्तर प्रयास गरी रहेका हुन्छन् ।’
संगठनको व्यावसायिक निष्पक्षतासँगै कानुनी राज्यका आधारहरू मजबुत हुँदै जाने हुने र त्यसबाट राज्यकै हित हुने तर प्रहरीका प्रशासनिक निर्णयहरुमा प्रभाव र दबाब कायम रहेमा त्यसले प्रहरीलाई आलोचनाको शिकार बनाउने र त्यो आलोचनाले अन्ततोगत्वा राज्यको विश्वसनियता सखाप पार्ने उनको भनाई छ ।
आफुले थोरै भएपनि प्रहरीलाई योगदान दिएको उनले बताए । ‘नेपाल प्रहरीको इतिहासको सानो कालखण्डमा यस संगठनको नेतृत्व सम्हाल्ने अवसर पाएको हुँदा मैले संगठनमा आकाश पातालको परिवर्तन गरे भनेर पनि म दाबि गर्दिन तर सत्य के हो भने वी ह्वाभ मूम्भ्ड अहेड, हामीले हिजो भन्दा आज केही छोटो दूरीको नै सहि तर महत्वपुर्ण र सकारात्मक दिशातर्फको यात्रा थालनी गरेका छौं,’ उनले भने ।
३० वर्षे सेवाहदका कारण ज्ञवाली, एआईजी तारिणी लम्साल तथा डिआईजी सूर्य उपाध्यायले बिहीबारदेखि अवकाश पाउन लागेका हुन् । बिहीबारदेखि शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेका छन् ।

प्रतिक्रिया दिनुहोस्