Logo
Logo

तीनकुने घटना : दुर्गा प्रसाईँको खोजीमा प्रहरी परिचालित


819
Shares

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँको खोजीमा प्रहरी परिचालित भइसकेको बताएका छन्।

शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे जानकारी दिँदै आईजी थापाले घटनासँग सम्बन्धित अभियुक्तहरूमाथि कानुनी कारबाही अगाडि बढाइएको जानकारी गराएका हुन् । 

उक्त घटनामा राज्यविरुद्धको अपराधमा संलग्न २० जना र आपराधिक उपद्रव अन्तर्गत ५८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

समिति सभापति रामहरि खतिवडाले ‘कुल समातियो, मुल समातिएनरु’ भनी सोध्दा, आईजी थापाले मुख्य अभियुक्तलाई समात्न गृह मन्त्रालयसँग समन्वयमा काम भइरहेको बताए।

‘जो व्यक्ति आपराधिक गतिविधिमा संलग्न हुन्छ, उसले सजिलै गिरफ्तारी दिँदैन,’ थापाले भने, ‘प्रसाईँको खोजीमा घटना भएको दिन रातभर टेक्निकल र म्यानुअल माध्यमबाट प्रयास गरिएको थियो।’

थापाका अनुसार, दुर्गा प्रसाईं स्टेप बाइ स्टेप योजनाबद्ध रूपमा फरार भएका छन् भने उनीविरुद्ध जाहेरी दर्ता भइसकेको र निरन्तर खोजी भइरहेको छ।

प्रसाईंलाई कहिले समातिन्छ भन्ने यकिन नभए पनि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अनुसार पक्राउ गरी कारबाही अगाडि बढाउने आईजी थापाको भनाइ छ। ‘जुनबेला भेटिन्छ, त्यहीबेला पक्राउ गरी कानुनी दायरामा ल्याउने छौँ,’ थापाले समितिमा बताए।

प्रतिक्रिया दिनुहोस्