काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ सुरु गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिवार चितवनबाट जनयात्रा कार्यक्रमको सुरुवात गरिएको हो ।

पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रूपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरेका छन् ।
आजको कार्यक्रममा सभापति रवि लामिछानेले धेरै कुरा भन्ने बताएका थिए । तर, शुक्रवार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् । लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए ।














