काठमाडौं । चिनियाँ विश्व विख्यात विद्युतीय गाडी उत्पादन कम्पनी बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इन्कको पहलमा सञ्चालित साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ)ले ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन’को सगर्व घोषणा गरेको छ ।

यो नेपालको अति खतराको सूचीमा रहेको जीव ‘डल्फिन’ संरक्षणका लागि समर्पित एक पहल रहेको कम्पनीले उल्लेख गरेको छ । विश्व जलचर जनावर दिवस अर्थात ‘वल्र्ड अक्वाटिक एनिमल डे’को अवसरमा गएको बिहीबारमा पाटन संग्रहालयमा आयोजित एक कार्यक्रमबीच सो प्रोजेक्ट औपचारिक रूपमा लन्च गरिएको थियो । जसले नेपालको स्वच्छ पानीको इकोसिस्टम संरक्षणका लागि संरक्षक, वातावरणविद र सामुदायिक अगुवाहरूलाई एकै स्थानमा ल्याउने अपेक्षा गरिएको छ ।
गंगा नदी डल्फिन अति खतराको सूचीमा रहेका जीव हुन्, जुन संसारभर ३ हजार ५ सय भन्दा कम संख्यामा मात्र रहेका छन् । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा कर्णाली नदीमा ४३ र कोशी नदीमा ९ गरी ५२ डल्फिन मात्र रहेको रेकर्ड छ ।
नेपालमा बीवाईडी डल्फिन ईभी लोकप्रिय छ । बीवाईडी डल्फिन ईभी र यही नामको जीवको संरक्षण बिचको उल्लेखनीय तालमेलको आधारमा सीबीसीएफ प्रोजेक्ट डल्फिनले नेपालको जैविक विविधता संरक्षणका लागि गरिने अर्थपूर्ण कार्यलाई अझै बढावा दिने लक्ष्य राखेको छ ।

सीबीसीएफ प्रोजेक्ट डल्फिन लन्चको अवसरमा कम्युनिटी, कोलाबोरेसन र कन्जर्भेसन विषयमा प्यानल डिस्कसन सम्पन्न भएको थियो ।
कार्यक्रममा साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘सीबीसीएफ प्रोजेक्ट डल्फिन केवल डल्फिन बचाउने मात्र नभई योभन्दा धेरै ठूलो कार्य हो । यो डल्फिनका लागि नदी बचाउने, आवश्यक जंगल बचाउने, त्यहाँ बाँचिरहेका जनावर बचाउने र साझा बासस्थानको रुपमा प्रयोग गरिरहेका समुदाय बचाउने कार्यसमेत हो । फाउन्डेसनबाट हामीले दिगोपना र वातावरण प्रवर्धनप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनःपुष्टि गरेका छौँ ।’
इलेक्ट्रिक मोबिलिटीमा बीवाईडी डल्फिन ईभीले गरिरहेको नवप्रवर्तनलाई नेपालको संरक्षण प्रयाससँग मिलाएर सीबीसीएफ प्रोजेक्ट डल्फिनले दिगो विकास र वन्यजन्तु संरक्षणमा बीवाईडी एक कदम अगाडि बढेको देखाएको छ । नयाँ प्रविधि र संरक्षणलाई जोड्ने कार्यमा अर्थपूर्ण पहल गर्ने कार्यलाई भविष्यमा समेत अझै बढावा दिने कार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन सदैव प्रतिबद्ध रहने जनाइएको छ ।














