Logo
Logo

चीन–अमेरिका व्यापार युद्ध : विश्व सेयर बजारमा भारी गिरावट


441
Shares

काठमाडौं । शनिवारदेखि लागू हुने गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा कर वृद्धि घोषणा गरेपछि त्यसको प्रतिकार स्वरूप चीनले पनि अमेरिकी वस्तुहरूमा उच्च दरको कर लगाएको छ । यो दोहोरो कदमले विश्वभरिका सेयर बजारमा ठुलो असर परेको छ ।

चीनको निर्णयपछि जर्मनी, फ्रान्स, बेलायत तथा एसियाली मुलुकहरूको सेयर बजारमा पनि भारी गिरावट आएको छ । यसले विश्वव्यापी व्यापार युद्ध चर्किने सम्भावना बढाएको छ र विश्वकै अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने सङ्केत देखाएको छ ।

अमेरिकाको प्रमुख सेयर सूचकाङ्क एस एन्ड पी ५०० लगभग ६ प्रतिशतले ओरालो लागेको छ भने बेलायतको एफटीएसई १०० सूचकाङ्क करिब ५ प्रतिशतले घटेको छ । यो पछिल्लो पाँच वर्षको सबैभन्दा तीव्र गिरावट हो ।

राष्ट्रपति ट्रम्पले भने लगानीकर्तालाई ‘नआत्तिन’आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “दृढ रहनुहोस्, हामी हार्न सक्दैनौं।”

ट्रम्पले सबै देशहरूबाट आयात हुने सामानमा थप १० प्रतिशत कर लगाउने घोषणा गरेपछि बजारले खर्बौं डलरको मूल्य गुमाएको छ । चीन, युरोपेली सङ्घ, भियतनाम लगायतका प्रमुख साझेदारहरूबाट आयात हुने वस्तुहरू उच्च दरमा करको मारमा परेका छन् ।

आर्थिक विशेषज्ञहरूले यी कदमहरूले व्यापारमा ठुलो संकुचन ल्याउने सम्भावना रहेको भन्दै चेतावनी दिएका छन् । चीनले अमेरिकी सामानहरूमा ३४ प्रतिशत आयात कर लगाउनुका साथै मुख्य खनिजहरूको निर्यातमा रोक लगाएको छ। साथै, केही प्रमुख अमेरिकी कम्पनीहरूलाई कालोसूचीमा राख्दै, ट्रम्प प्रशासनको कदमको कडा जवाफ दिएको छ। चीनले अमेरिकी निर्णयलाई धम्की र अन्तर्राष्ट्रिय व्यापार नियमको उल्लङ्घन भन्दै आलोचना गरेको छ।

त्यसैगरी, युरोपेली सङ्घले पनि आवश्यक परे अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउँदै “ट्रम्पले सिर्जना गरेको व्यापार आतङ्क” विरुद्ध एकजुट भएर प्रतिवाद गर्ने चेतावनी दिएको छ। सङ्घका व्यापार आयुक्त मारोस सेफ्चोविचले भने, “युरोपेली सङ्घ आफ्ना व्यापारिक हितको रक्षा गर्न सक्षम छ।”

प्रतिक्रिया दिनुहोस्