Logo
Logo

अख्तियारमा प्रहरी संख्या बढाइयो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असार । नेपालमा सबै तह र निकायबाट प्रहरीलाई कमजोर बनाउने प्रयास भइरहेको छ । तर, अचम्म के छ भने सबैलाई त्यही प्रहरी चाहिएको छ । दुःख पर्दा सर्वसाधरणलाई त चाहिने नै भयो, राज्यका अन्य निकायलाई पनि प्रहरी नै बढी चाहिएको छ । जस्तो कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।

निजामति कर्मचारी भन्दा प्रहरीको अनुसन्धान राम्रो भएपछि आयोगले प्रहरीको संख्या बढाएको छ । आयोगमा दुई डिएसपीसहित २० जना प्रहरीको नयाँ दरबन्दी थप गरिएको छ ।

दरबन्दी थप गर्ने आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षणको रिपोर्ट मन्त्रीपरिषद्को बैठकले केही साताअघि स्वीकृत गरेको छ । जसअनुसार आयोगमा दुई डिएसपी, १२ इन्सपेक्टर, दुई सई, तीन हवल्दार र एक सिपाहीको दरबन्दी थप भएको हो । यससँगै आयोगमा प्रहरीको दरबन्दी तीन सय ३० पुगेको छ । आयोगको जम्मा जनशक्ति करिब नौ सय छ । ‘स्टिङ अप्रेसन’ मात्र होइन, महत्वपूर्ण अनुसन्धानको जिम्मेवारी आयोगमा प्रहरीलाई दिने गरिएको छ । प्रहरीका अब्बल अनुसन्धान अधिकृतहरुलाई आयोगले छानी छानी सरुवा गर्दै आएको छ ।

आयोगमा प्रहरी नायब महानिरीक्षक(डिआईजी)को नेतृत्वमा प्रहरी महाशाखा छ । विगतमा अप्रेसनका काममा बढी प्रहरी खटिनेमा पछिल्लो समय अनुसन्धानमा समेत प्रहरीलाई जिम्मेवारी बढाउँदै लगिएको छ । प्रहरीसँग अपराध अनुसन्धानको अनुभव हुने र भ्रष्टाचारको अनुसन्धानमा पनि उनीहरुको अनुभव काम लाग्ने भएकाले प्रहरीलाई अनुसन्धानको जिम्मेवारीमा बढाउँदै लगिएको हो ।

लोकमानसिंह कार्की आयोगको प्रमुख आयुक्त हुँदा प्रहरीको दरबन्दी बढाएर करिब चार सय पु¥याइएको थियो । उनी हटेसँगै प्रहरीको संख्या घटाइएको थियो । अहिले फेरि बढाइएको छ । निजामती कर्मचारीहरु अनुसन्धानमा अब्बल भए पनि कतिपय अनुसन्धानका सूचना ती कर्मचारीहरुबाट चुहिने भएकोले तत्कालीन प्रमुख कार्कीले प्रहरीको विश्वास गर्नुपरेको बताएका थिए । गोप्य अनुसन्धानका घटनामा प्रहरीले इमान्दारपूर्वक काम गरेकोले अख्तियारको अनुसन्धान, विश्वसनीय र भरपर्दो बनेको आयोगको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्