काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले अर्का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेरको रिहाइको माग गरेका छन् ।

मंगलबार बल्खुमा आयोजित सभामा उनले तीनकुने घटनाको छानबिनका लागि आयोग गठनको माग पनि गरे । उनले भने, ‘हामीसँगै यही मञ्चमा हुनुपर्ने वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेरलाई छानबिन गर्न हिरासतमा राखिएको छ । यो दुःखद् कुरा हो ।’
तामाङले धवलशमशेर पसल लुट्ने मान्छे हो भन्दै प्रश्न गरे । उनले भने, ‘माननीय धवलशमशेर ढुंगा हान्ने मान्छे हो रु आगो लगाउने, पसल लुट्ने मान्छे हो ?’
उनले देशलाई कसरी बनाउन सकिन्छ भन्नेमा लाग्ने विद्वान् व्यक्तिलाई विभिन्न आरोप लगाइएको बताए । उनले कलम समाउने मिश्रलाई ढुंगा हान्ने, आगो लगाउने मान्छे भनेर चित्रित गरेको भन्दै आपत्ति जनाए ।
त्यस्तै राप्रपा अरु नेताहरूले पनि तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता तथा कार्याकर्तामो रिहाइको माग गरेका थिए ।














