काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार आगामी निर्वाचनसम्म निरन्तर रहने दाबी गरेका छन् । सिरहामा आयोजित नेकपा एमालेको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएरै छाड्ने प्रतिबद्धता जनाए ।

ओलीले सरकारलाई अस्थिर बनाउने प्रयास अब निरर्थक भएको बताए । “अबको १५ महिनापछि म कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्छु,” उनले भने, “सरकार अहिले ढल्छ भनेर हल्ला फैलाउनेहरू थाकिसके। यो मजबुत सरकार हो ।”
प्रधानमन्त्री ओलीले राजतन्त्र पुनर्स्थापनाको चर्चा निराधार भएको बताए । १५ चैतका अराजक गतिविधिलाई इंगित गर्दै उनले राजतन्त्र समर्थकहरूको वास्तविकता जनताले हेरेको बताए । आगजनी र तोडफोड गर्ने व्यक्तिहरू शासनसत्ता चलाउने हैसियतमा नरहेको र तिनलाई यस्तो जिम्मेवारी दिन नहुने स्पष्ट पारे।
उनका अनुसार, एमाले र कांग्रेसजस्ता पुराना र ठूला पार्टीहरूको नेतृत्वमा रहेको गठबन्धन सरकारले संविधान, लोकतान्त्रिक मूल्य र संस्थागत सुशासनको रक्षा गर्दै समृद्ध नेपालको यात्रालाई अगाडि बढाउनेछ ।














