काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बसेको सचिवालय बैठकले यही वैशाख ४ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकले चितवनबाट सुरू भएको जनयात्राबारे ठोस निर्णय लिनेछ । रास्वपाले गत चैत २३ गते चितवनबाट जनयात्रा सुरू गरेको थियो । तर, अघिल्लो दिन नै सभापति रवि लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतको धरौटीमा रिहा गर्ने निर्णय उल्ट्याउँदै उच्च अदालत तुलशीपुरले उनलाई थुनामा पठाउने आदेश दिएको थियो ।
सभापति लामिछाने त्यही दिन पक्राउ परेका थिए । त्यसपछि पनि रास्वपाले जनयात्रा सुरूआत गर्ने कार्यक्रम रोकेन । तर, निरन्तरता भने दिएको छैन । यसबारे आगामी कार्ययोजना केन्द्रीय समितिले नै बनाउने छ । रास्वपाले पहिलो महाधिवेशनको समेत तयारी गरेको थियो । गत असोजमा भएको राष्ट्रिय परिषद्को प्रथम भेलाले पहिलो महाधिवेशन वैशाख २५, २६, २७ गते गर्न सुझाव दिएको थियो ।
कार्यतालिका अनुसार अहिलेसम्म ६८ जिल्ला भेला र ५ वटा पालिका समितिको अधिवेशन भएको छ । जसले महाधिवेशन निर्धारित मितिमै गर्न सकस भइरहेका बेला सभापति कारागार चलान भएका छन् । तर, अहिले रास्वपाले महाधिवेशन स्थगन गर्ने तयारीमा छ ।














