काठमाडौं । भक्तपुरमा बस पल्टिँदा चारजना घाइते भएका छन् । आज बिहान ८ बजेतिर सूर्यविनायक नगरपालिका–५ चुनदेवि आकासे पुलनजिकै बा ३ ख २४४६ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो ।

च्यामासिंहबाट काठमाडौंतर्फ आउँदै गरेको बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए । उनका अनुसार चारजना सामान्य घाइते भएका छन् ।
घाइते हुनेमा काभ्रे घर भई जगाती बस्ने ४२ वर्षीय सानुमान थिङ, सूर्यविनायक–८ सिपाडोल बस्ने ५४ वर्षीय सुवर्ण भुजेल, सूर्यविनायक–९ पलासेकी ५० वर्षीया कोपिला महत र भारत घर भई भक्तपुर चुनदेवी बस्ने २३ वर्षीया किरणदेवि बानियाँ रहेका छन् । उनीहरूको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले बस र चालक भक्तपुर नगरपालिका–७ ईनाचो बस्ने ४२ वर्षीय रबिन प्रजापतिलाई नियन्त्रणमा लिएको छ । चालक र बसलाई प्रहरी वृत्त जगातीमा राखिएको छ ।














